रुसले युक्रेनमा अप्रत्याशित रुपमा आक्रमण गरेपछि पश्चिमी शक्तिहरूले विश्वव्यापी निन्दाको सामना गर्नु परेको छ।
सुरुमा युक्रेनलाई उनीहरुले रुसविरुद्ध उक्स्याएको र अहिले सहयोग गर्न नसकेको पश्चिमा राष्ट्रमाथि आरोप लाग्ने गरेको छ।उनीहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्, हतियार युक्रेन पठाएका छन् यद्यपी आफ्ना सेना युक्रेन पठाउन भने अस्वीकार गरेका छन्।
उनीहरुका अनुसार युक्रेन युरोपेली राष्ट्र भएपनि नेटोको सददस्य होइन। युक्रेनमा सेना पठाएर उनीहरु जोखिमको रेखा पार गर्न चाहँदैनन्।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टोमस ग्रिनफिल्डले सीएनएनसँग आइतबारको कुराकानीमा भनेका छन् कि अमेरिकाले यो प्रस्ट पारिसकेको छ अमेरिकी सेनाले युक्रेनको भूमिमा पाइला टेक्ने छैनन्।
युक्रेनलाई अमेरिका लगायत पश्चिमा राष्ट्रले सैन्य सहायता नदिनुको कारणः
विश्व युद्धको खतराः यही महिनाको सुरुवातमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एनबीसीसँगको कुराकानीमा भनेका थिए,‘अमेरिकाले युक्रेनमा सेना पठाए अमेरिकीले रुसी सेनामाथि आक्रमण गर्नुपर्ने हुन्छ। त्यो भनेको तेस्रो विश्व युद्ध सुरुवात हुनु हो।’
यस्तै पूर्व अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल मार्क हर्टलिङले रुस र युक्रेनबीचको विवाद क्षेत्रीय द्वन्द्व भएको बताउँछन्। उनी भन्छन्,‘यो विवाद मात्र क्षेत्रीय द्वन्द्व हो। यदी अमेरिका र नेटोका फौज युक्रेन गए भने यो विश्वव्यापी युद्धमा परिणत हुन्छ।’
तर अमेरिका लगायत नेटोका सेना युरोपमा छन् त? अमेरिकाले युरोपभर आफ्ना हजारौं सेना तैनाथ गरेको छ। तर ती सेनाहरु रुसी सेनाविरुद्ध युद्ध गर्न गएका होइनन्। अमेरिकी राष्ट्रपति बाइडेनका अनुसार उनीहरु नेटोमा आवद्ध देशहरुको रक्षा सुनिश्चित गर्न मात्र त्यहाँ गएका हुन्।
कतिबेला अमेरिका रुसविरुद्ध उत्रन सक्छ? युक्रेनको सीमा नेटोमा आवद्ध देश पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियासँग जोडिएको छ। यदी रुसले यीमध्ये कुनै देशलाई चेतावनी दियो भने आक्रमण गर्यो भने अमेरिका मात्र नभएर फ्रान्स, जर्मनी, बेलायतसहित नेटोमा आवद्ध ३० देश रुसविरुद्ध आक्रमणमा उत्रनेछन्।
नेटो गठबन्धनको धारा ५ मा नेटो सदस्यमाथिको आक्रमण त्यहाँ आवद्ध सबै देशमाथिको आक्रमण भनिएको छ। त्यसैले एकले अर्काको रक्षा गर्नु उनीहरुको जिम्मेवारी हो।
रुस के भन्छ?
रुसले तेस्रो पक्ष यस आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ। आफूले आणविक हतियार नै प्रयोग गर्ने पनि रुसको भनाइ छ।
सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।
युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध हुन खोजेपछि रुस क्रुद्ध भएको हो। रुसले अमेरिका लगायत अन्य युरोपेली राष्ट्रलाई युक्रेनलाई नेटोमा आवद्ध नगराउन आग्रह गरेको थियो।
तर अमेरिकाले रुसी मागको अस्वीकार गरेको थियो।