• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘काँग्रेस–एमाले’को कित्ताकाटले एनआरएनए फुट्यो, एकै समयमा दुई समूहको चुनाव घोषणा

ByAgrim Post

Mar 12, 2022

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।

विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।

पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री केसी चुनावी मैदानमा छन् भने उनलाई एमालेको समर्थन रहेको छ । यस्तै आचार्य काँग्रेस निकट हुन् । आचार्यलाई नेपालको सत्ता गठबन्धनमा रहेका दल निकट एनआरएनए अभियन्ताहरुको पनि साथ रहेको छ ।

सत्ताकै आडमा चुनावी गतिविधिमा आचार्यले अवरोध पुर्याएको आरोप संस्थापन पक्षले लगाउँदै आएको छ भने सोही कारण अक्टोबरमै हुनुपर्ने चुनाव हालसम्म पनि हुन नसकेको छैन । यही बीचमा संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेको छ भने त्यसका लागि शुक्रबार साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको थियो । तोकिएको समयमा उम्मेदवारी दिनेमा अधिकांश पन्त समूहका उम्मेदवार रहेका छन् भने आचार्य समूहले बहिष्कार गरेको छ ।

समानान्तर निर्वाचन समितिको घोषणा

यसैबीच आचार्य समूहले समानान्तर चुनावको मिति घोषणा गरेको छ । एनआरएनएका प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेको घोषणा गरेका हुन् । यसलाई समानान्तर समितिको रुपमा अभियन्ताहरुले ब्याख्या गरेका छन् ।

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरिएको घलेको भनाइ छ । गतवर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएको दाबी गरिएको छ।

निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) रहेका छन् भने सदस्यहरूमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन्। यस्तै संस्थापन पक्षको निर्वाचन समितिमा भने भीमसेन बञ्जारा रहेका छन् ।

प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन्। आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरू, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख अर्थात संस्थापनको तालिकासँगै जुधाएर काठमाडौँमा आयोजना हुने घोषणा गरिएको छ । प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन पनि आग्रह गरेका छन् ।

संस्थापन पक्षबाट केही साताअघि संस्था गम्भीर मोडमा पुगेपछि वार्ताको प्रयास पनि भएको थियो । यसकै लागि मनोनयन दर्ताको समय पनि थपिएको थियो तर यो बीचमा कुनै प्रगति हुन नसकेको संस्थापन पक्षका एक अभियन्ताले बताए ।

संघमा देखिएको डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएपछि थप विवाद चर्किन पुगेको थियो । उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दा राख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि थप विवाद भएको थियो ।

उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी विरोध गरेका थिए। उनले विरोध गरेपछि प्रमुख संरक्षक पदमै खारेजको दाबी पनि संस्थापनबाट भएको थियो ।

विद्रोही समूहका आचार्यले एनआरएनएलाई अझै पनि जोगाउने बाटो खुला नै रहेको भन्दै संस्थापनले आफ्ना कमजोरी स्वीकारेर सहमतिमा आउनुपर्ने बताए । उनले भने, ‘उहाँहरुले नमान्नु भएपछि हामी पुनर्गठन भएको निर्वाचन कमिटीअनुसार अघि बढ्छौँ ।

आचार्य समूहले बहिष्कार गरेको चुनावी प्रक्रियामा क–कसको मनोनयन ?

संस्थापनको मनोनयन कार्यक्रमअनुसार ५० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जसअनुसार अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा.बद्री केसी र रविना थापा थापाले उम्मेदवारी दर्ता गराएका छन् उपाध्यक्षको लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा.हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत छन् ।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन् । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिंखडा, जापानबाट ओम गुरुङ, क्यानडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी दिएका छन् ।

महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । महिला सह कोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *