कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन् ।
शुक्रबार सत्तारुढ गठबन्धनको एउटा प्रमुख घटक नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन ।’
माओवादी अध्यक्ष दाहाल सत्तारुढ घटकबीच आउँदा निर्वाचनहरुमा पनि तालमेल गराउने योजनामा छन् । दाहाल गठबन्धन गरेर चितवन–३ बाट फेरि उम्मेदवार हुने तयारीमा छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि यसप्रति लचक देखिन्छन् । तर कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्य समितिको पदस्थापन कार्यक्रममा बोल्ने प्रमुख अतिथि थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताले भने चितवनमा गठबन्धन नगर्न अपिल गरे ।
‘रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ भन्ने कुरा मलाई लाग्छ । मलाई विश्वास छ पार्टीको नेतृत्वले यो कुरा बुझ्छ,’ महामन्त्री थापाको भनाइ थियो ।
चितवन कांग्रेसका पुराना नेतासमेत रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा पार्टी केन्द्रले चुनावी गठबन्धन गरे विद्रोह हुने चेतावनी दिए । ‘मैले सुनेको छु स्थानीय तहमा महानगरहरुमा चुनावी तालमेल हुने भयो रे ।