• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा नेपाली सेनालाई स्वर्ण पदक

ByDeayam

Mar 13, 2022

नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ।

जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक जित्न सफल भएको थियो।

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी थिए। नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक भाग लिएको हो।

प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरुप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो।

प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबियालगायतका मुलुकका सेना सहभागी थिए।

पहिलो प्रयासमा अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेशागत दक्षता, दृढ सङ्कल्पसहितको अठोटले ठूलो बल पुर्याएको हो।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गरे।

सो अवसरमा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले प्रतियोगितामा सहभागी नेपाली सैनिक टोलीले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने काम गरेको भनी प्रशंसा गरे। उनले भने, “छोटो तयारीमा पनि कडा परिश्रम र उच्च अनुशासनमा रही सैनिक व्यावसायिता प्रस्तुत गर्दै अरु मुलुकका सेनाबीच नेपाली सैनिक टोलीले पृथक पहिचान स्थापना गर्न सफल भएको छ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *