काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय सांसद सुदन किरातीले गायक प्रकाश सपुतको सार्वजनिक भएको नयाँ गीत ‘पिर’माथि प्रश्न गरेका छन् । गायक सपुतले केही दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतमा माओवादी द्वन्द्वको लक्ष्य प्राप्ति र त्यसले निम्त्याएको भयवहबारे चित्रण गरिएको छ ।
त्यहीँ गीत हेरेर सांसद किरातीले सपुतलाई देशमा अझैँ निरंकुश राजतन्त्र भए संगीत क्षेत्रमा रचनात्मक रुपमा खेल्न पाउनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । यस्तै, सांसद किरातीले राजतन्त्र भइदिएको भए दलित जातिमाथि लादिएको विभेद पनि हट्थ्यो भन्दै पनि प्रश्न गरेका छन् ।
सांसद किरातीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश सपूत जी ! यसको मतलब जनयुद्धबाट प्राप्त उपलब्धी गलत थियो ? जनयुद्धमा सहभागी भएका महिलाहरु तपाईले भने जस्तै देह व्यापार गरी रहेका छन् ? संगीत क्षेत्रमा तपाईले खेल्नु भएको रचनात्मक भुमिका देशमा निरङकुस राजतन्त्र रहेको भए त्यसरिनै खेल्न पाउनु हुन्थ्यो त ? तपाई जेल जानु पर्दैन थियो ? तपाईको समुदाय माथी लादिएको बिभेद हटेकोमा तपाई बेखुशी हो ? यो व्यबस्था उल्टियो भने तपाईको जातीलाई नै सबैभन्दा ठुलो क्षति पुग्छ होइन र ? त्यसो भए ति महिला योद्धाहरुलाई तपाईको रचनामार्फत सम्मान पो गर्नु पर्थ्यो होइन र ?’
सांसद राईले भिडियोमार्फत माओवादी द्वन्द्वले केही उपलब्धि ल्याएन भन्नेमा प्रश्न उठाएका छन् । सृजना गरिएको गीतमा जनयुद्धमा सहभागी भएका महिलाहरु देह व्यापार लागेको भन्नेमा उनले आपत्ति जनाएका छन् । उनले लेखेको छन्, ‘जेल ब्रेक गरेर उमा भुजेलहरु, दौडिएर बिश्व कृतिमान कायम गर्ने मिरा राईहरु, कलिलो उमेरमा देशको सभामुख बन्न सफल ओनसरि घर्ति मगरहरु कहाँ बाट जन्मिएको होला ? उहाँहरु प्रति तपाईको सृजना किन मौन छ ?’