काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट पुनः पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिइएको छ । आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले नेपालसहित १४ सांसदविरुद्ध दायर भएको रिट पूर्ण सुनुवाईका लागि पठाउने आदेश दिएको हो ।
तत्कालीन नेकपा पूर्ववत् रुपमा एमाले र नेकपा माओवादी केन्द्रमा फर्किएपछि एमालेबाट नेपालसहित १४ सांसद पार्टीबाट हटेका थिए । र, उनीहरुले छुट्ट दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए ।
पार्टीको अनुशासनमा नबसेको भन्दै अध्यक्ष ओलीले नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । र, सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले निलम्बित गरेका सांसदहरुलाई कारबाही गर्न पत्र पठाएका थिए । तर, सभामुख सापकोटाले नेपालसहित १४ सांसदलाई हालसम्म कारबाही गरेका छैनन् । निर्वाचन आयोगले पनि नेपाल समूहलाई नेकपा (एकीकृत समाजवादी पार्टी) दर्ता गर्न दिएको थियो ।
पार्टीले कारबाही गरेकाहरुलाई सभामुखले कारबाही नगरेको र आयोगले पनि सजिलै दल दर्ताको प्रमाणपत्र दिएपछि उक्त निर्णयविरुद्ध अध्यक्ष ओली अदालतको ढोका ढकढक्याउन पुगेका थिए । आइतबार पूर्ण सुनुवाईका लागि पठाउन आदेश दिइएको ओलीको रिट पेशीका लागि १२ औं पटकमा चढेकाे छ ।