• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जसपाको बैठक पार्टी प्यालेसमा, कुर्सी विवाद नहोस् भनेर शीर्ष नेताहरू भुइँमा

Bydeep

Mar 14, 2022

बस्ने कुर्सीमा विवाद आउने भएपछि जनता समाजवादी पार्टी(जसपा)मा शीर्ष नेताहरू भुइँमै बसेका छन्। कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरू भएको जसपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राईसहितका शीर्ष नेताहरू भुइँमै बसेका छन्। मञ्चमा कार्यकारिणी सदस्यहरू बसेका छन् भने हलमा केन्द्रीय सदस्यहरू छन्।

गत भदौ पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकमा कुर्सी विवाद भएको थियो। त्यतिबेला जसपा अध्यक्ष उपेन्द्र यादवका लागि अलग्गै कुर्सी राखिएको भन्दै भट्टराई पक्षका केही नेताहरूले विरोध गरेका थिए। त्यतिबेलै अर्को दिनको बैठकमा कुर्सी हटाइएको थियो। यसपटक भने कुर्सीको विवाद नआओस् भनेर नै मञ्चमा कुर्सी राखिएको छैन।

‘त्यो बेलामा बाबुरामजी निकट केही नेताहरूले विरोध गर्नुभयो। पार्टी प्यालेसले व्यवस्थापन गरेकाले हामीलाई थाहा भएन। तर उहाँहरूले यसलाई ठूलो कुरा ठान्नुभयो,’ यादवनिकट एक नेताले भने,‘पहिलो दिन आपत्ति जनाएपछि हामीले दोस्रो दिनदेखि कुर्सी हटाएका थियौं। अहिले गुनासो नआओस् भनेर पहिल्यै यस्तो गर्न भनेको हो।’

जसपा कार्यकारीणी सदस्य नवराज सुवेदीले कुर्सीभन्दा पनि गद्धा राख्दा बस्न सजिलो होस् भनेर त्यस्तो गरिएको बताए। उनले कुर्सी राख्दा विभिन्न खालका टीका-टिप्पणी नहोस् भनेरसमेत यस्तो गरिएको बताए। अर्का कार्यकारिणी सदस्य प्रकाश अधिकारीले समाजवादी पार्टीमा सबै समान भएकाले कुर्सी नराखिएको बताए।

जसपा सांसद प्रमोद साहले पनि कुर्सी राख्दा विगतमा केही समस्या आएको बताए। ‘विगतमा अलिकति समस्या भएको थियो। कोही ठूलो सानो नहोस् भनेर यस्तो गरिएको हो। सोफा राख्दा बस्न असजिलो हुने र कसैको मान सम्मानमा ठेस नपुग्ने गरी यस्तो गरिएको हो,’ उनले भने।

जसपामा यादव र भट्टराई पक्षबीच विवादसमेत पेचिलो बन्दै गएको छ। भट्टराई पक्षले यादवले शक्ति आफूसँगै केन्द्रीत गर्न खोजेको आरोप लगाएको छ। पार्टीमा तीन अध्यक्ष हुने प्रावधान भए पनि यादवले कार्यकारी अध्यक्ष चयन गर्न चासो नदेखाएको भट्टराई पक्षको आरोप छ।

तीन अध्यक्षमा मधेसी, जनजाति र खस आर्यबाट एक-एक जना बनाउँदा उपयुक्त हुने भट्टराई पक्षको तर्क छ। त्यसका लागि भट्टराई पक्षले अशोक राईलाई अघि सारेका छन्। भट्टराई र यादवको अन्तरसंघर्षमा राई तटस्थ बसेका छन्। यद्यपी भट्टराई पक्षले राई आफूहरूको पक्षमा रहेको दाबी गरेको छ।

पार्टीमा आफूहरूको बहुमत रहेको समेत भट्टराई पक्षको दाबी छ। यादव पक्षले भने भट्टराईले पार्टीभित्र अस्थिरता मच्चाउन खोजेको आरोप लगाएको छ। यो कुर्सी प्रकरण पनि भट्टराईकै असन्तुष्टिका कारण आएको यादवनिकट एक नेताले बताए।

‘एकजना मात्रै सांसद भएको पार्टीको नेतालाई हामीले यत्रो सम्मान दिएका छौं। तर उहाँले यसैमा टेकेर अध्यक्षलाई कमजोर बनाउन खोज्नुभएको छ,’ यादव पक्षीय एक नेताले भने,‘कहिले मान पुगेन भन्नुहुन्छ। कहिले अधिकार चाहियो भन्नुहुन्छ। यस्तै-यस्तै के-के गर्नुहुन्छ, गर्नुहुन्छ!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *