• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दुई वर्ष माओवादी हुँदा जीवनभर निको नहुने चोट पाइयो, न आफूले नेता चिनियो न आफूलाई कसैले चिने

Bydeep

Mar 14, 2022

काठमाडौ फागुन ३०, १६ वैशाख २०६२ मा सिरहाको बन्दीपुरमा नेपाली सेनालाई एम्बुस थाप्न सङ्खुवासभा, मकालु गाउँपालिका- ३ का अमर राईलाई आदेश आयो। उनी आदेश बमोजिम एम्बुस थाप्दै थिए। दस वर्षपछि एक्कासि कसरी चर्चामा आयो छोरीमैयाँ केस ? देश र जनताका लागि लड्दै छु भन्ने गर्व थियो उनमा। तर राईका लागि त्यो गर्विलो क्षण त्यही १६ वैशाखको साँझ एकै छिनमा विलय भयो। एम्बुस राख्दै गर्दा उनको हातैमा बम पड्कियो। घटनामा आफ्ना दुवै हात र दुवै आँखा गुमाए।

‘के को लागि युद्ध लडियो, म आज पनि बुझ्दिनँ। तर त्यतिबेला देश र जनता भन्ने शब्दले तान्यो,’ राई भन्छन्, ‘माओवादी के हो, के थियो आज पनि म जान्दिनँ। तर म माओवादी भएँ। मजस्ता धेरै माओवादी छन् जसलाई माओवादी के थियो, के हो आज पनि थाहा छैन।’ राईलाई आफू माओवादी हुनुको उपहार अपांग हुनु मात्र भयो जस्तो लाग्छ। उनी आफैँसँग जवाफ खोज्छन्, ‘युद्ध किन लडेँ? मेरो सवलांग शरीर अपांग बनाउन मात्र हो त?

उनी भन्छन्, ‘अल्लारे उमेर थियो। साथी-भाइ सबै माओवादी थिए। साथी-भाइ सँगसँगै हुँदा रमाइलो नहुने कुरै थिएन। उनीहरू खाली देश र जनता भन्थे। राम्रै कुरा होला भन्ने लाग्यो। साथी-भाइको लहलहैमा नै म माओवादी भएँ। १६ वर्षको थिएँ, माओवादी हुँदा। १८ वर्ष हुनै लाग्दा हात र आँखा गुम्यो। जीवन कता रुमलियो रुमलियो।’

राईलाई आमा-बा साथैमा भएका भए आफू माओवादीमा लाग्दिनथें कि जस्तो पनि लाग्ने रहेछ अचेल। राईका आमा-बा भारतको आसाम र हिमाञ्चल क्षेत्रमा मजदुरी गर्थे त्यतिबेला। राईका दाइ र उनी मात्र थिए गाउँमा। लेख्न-पढ्न मन लागेन। उनी १३ वर्षको उमेरसम्म आमा-बा सँगै बसे। त्यसपछि नेपाल फर्किए।

‘नेपाल आएपछि गाउँ डुल्ने, बस्ने-खाने मात्र काम थियो। बा-आमा भएको भए मलाई माओवादी हुन रोक्थे होला,’ उनी भन्छन्, ‘पढे-लेखेको मान्छे परिनँ। साथी-भाइले देश र जनताको लागि गजब हुन्छ, हिँड्, आजबाट तँ पनि माओवादी भन्न थाले। लौ त नि भनियो। दुई वर्ष माओवादी हुँदा जीवनभर निको नहुने चोट पाइयो। न आफूले नेता चिनियो न आफूलाई कसैले चिने।’

ठुला नेताले आफ्नो बलिदानीलाई बेवास्ता गर्दा राईलाई दुःख लाग्ने रहेछ। बा-आमासँगै मजदुरी गर्न पाएको भए पनि हुने रहेछ जस्तो लाग्दो रहेछ घरीघरी। राईले प्रचण्डलाई जीवनमा एक पटक मात्र नजिकबाट देखेका छन्। त्यो पनि माओवादीको सम्मेलनमा। खासै राईको कुनै नेतासँग चिना-परिचय रहेन छ।

उनलाई पार्टीले हेर्ला भन्ने लागेको थियो सुरुमा तर त्यस्तो भएन। उनी लहलहैमा माओवादी हुँदा जीवनले नसोचेको गति लियो। परिवारले ऋण खोजेर जसोतसो भारतमा उपचार गराइरहँदा माओवादी शान्ति प्रक्रियामा आयो। तर उनको अनुहारमा उज्यालो भने आजसम्म आएन।

‘त्यतिबेला नेपालमा उपचार नहुने भएर मलाई भारत लगियो। आधा खर्च पार्टीले व्यहोरिदियो। त्यत्ति हो, पार्टीले गरेको,’ राई सम्झन्छन्, ‘माओवादीले भरिया बनायो। माओवादीको भरिया नभएर भरियामात्र भएको भए अपांग हुनु पर्दैनथ्यो। मागेर खाने दिन आउँदैनथ्यो।’

राईले माओवादी लडाकुको उपमा पाए पनि उनले बन्दुक चलाएनन्। कसैलाई कुटपिट गरेनन्। उनी त केवल बम बोकिरहे। लडाकुका भारी-भरकम राइफल बोकिरहे। बेलाबखत रासन बेके, पानी बोके। जब बोक्न सकेनन्, बम र राइफल त्यसपछि रासन-पानीको जोहो गर्न राईले बौद्ध स्तुपा अघिल्तिर अपांग शरीर बोकेर कचौरा बोके।

‘माओवादी हुँदा अरूको राइफल, बम बोक्ने, दाउरा खोज्ने काम गरियो। म त भरिया सिपाही पो थिएँ त,’ उनी भन्छन्, ‘२०६६ सालमा काठमाडौँ आएँ। धन्न आँखा प्रत्यारोपण गर्न मिल्यो। तीलगंगामा एक आँखा प्रत्यारोपण भयो। त्यसले अलि राहत भएको छ जीवनमा। नत्र जिउँदो लास पो थिएँ त।’

उनी काठमाडौँ आएपछि लामै समय आफन्तसँग बसे। तर उनलाई आफैँ केही गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो। उनी बौद्ध स्तुपा आसपास पुगिरहन्थे, मनको शान्ति खोज्न। त्यसैबेला आफैँ बाँच्ने तरिका भेटे। उनी भिख मागेर बस्न थाले।

‘बौद्ध स्तुपा निकै जान्थेँ। मान्छेहरू भिख मागेर बसिरहेको देख्थेँ। आफूसँग अरूले जस्तो शारीरिक श्रम गर्नसक्ने अवस्था छैन। यसो सोचेँ, सग्ला मान्छेहरू त मागिराछन्। म पनि माग्छु भन्ने आयो मनमा,’ उनले सुनाए, ‘त्यसपछि ८ महिना माग्ने भएर बसेँ।’ मागेर बस्दा राईको एक माग्ने साथीसँग परिचय भयो। ती माग्ने साथी बिहानभरि मागेर बस्थे। दिनभरि इएर फोन, नेल कटर, साना चक्कु, मास्क बेच्थे। राईले पनि ती साथीको तरिका अपनाए।

‘तीन हजार रुपैयाँ थियो मसँग त्यतिबेला। त्यही पैसाले साथीले जस्तै सामानहरू ल्याएँ, ऊसँग न्युरोड गएर,’ उनी भन्छन्, ‘त्यसपछि बिस्तारै व्यापार हुन थाल्यो। भिख माग्न छाडेँ।’ भिख माग्दाभन्दा बढी आम्दानी भिख नमाग्दा हुने गर्छ रे राईको अचेल। आफ्नो काम र हिम्मतको तारिफ गरेर दुई/चार रुपैयाँ बढी दिन्छन् रे ग्राहकले।

‘कोरोनाका कारण अचेल खासै व्यापार छैन। न्युरोड जान पाए अलि व्यापार हुन्थ्यो। बाहिर-फेर निस्कन पनि समस्या छ। काम नगरी खान पाइँदैन,’ उनी भन्छन्, ‘राहतमा दाल-चामल पाएको छु। तर नुन-तेल र तरकारीको लागि त कमाउनै पर्‍यो।’

राई कपन, मिलनचोकको दुर्गा मन्दिर नजिकै एक कोठा भाडामा लिएर परिवारसँगै बस्छन्। ११ महिनाकी छोरी छिन्। उनी आफ्नो उपचार खर्च र परिवारको खर्च जुटाउन हरेक बिहान बौद्ध स्तुपा पुग्छन्। इएर फोन, नैनी, मास्क लगायतका सामान बेच्छन्।

‘व्यापार खासै नभए पनि मान्छेले आफैँ सहयोग गरेर पैसा दिन्छन्,’ राई भन्छन्, ‘मनमा हरि भएका मान्छे छन् हाम्रो देशमा। नेताहरू मात्र हो दया नभएका त।’ उनले दुई वर्षअघि प्रेम विवाह गरे। विवाह गरेपछि उनको जीवन अलि सहज भएको छ। ‘गाउँको साथीले नम्बर दिएको थियो। फोनमा कुरा भयो,’ उनी भन्छन्, ‘७ महिनासम्म त आफ्नो अवस्थाबारे भनिनँ। ८ महिनामा भेट्ने कुरा भयो। भेट्नुअघि सबै सत्य भनेँ।’

भेट भएको एक वर्षपछि राईले प्रेम सम्बन्धलाई विवाहको रूप दिए। ‘हामी बुढाबुढी त जसोतसो समय कटाउँला, छोरीको भविष्य छ। उसलाई कसरी बढाउने, पढाउने भन्ने कुराले मन पोलिरहन्छ,’ राई भन्छन्, ‘जीवनमा क्रान्तिको लागि भनेर हात, आँखा गुमाएँ। तर मेरो शारीरिक क्षति बाहेक यो देशलाई क्रान्तिले केही दियो जस्तो लाग्दैन। बमकाण्डपछि मानसिक रूपमा पनि अलि सुस्त भएको छु। धेरै स्मरणमा रहँदैनन् कुराहरू।’

राई आफ्नो नाबालक छोरीको स्याहारसुसार गर्नकै लागि भए पनि सडकमा निस्कनुपर्ने बाध्यता रहेको बताउँछन्। आफ्नो कोठाको भित्तामा सजिएको पुरानो फोटो छेउ उभिँदै भन्छन्, ‘सवलांग भएको भए ज्यामी भएर पनि जीवन आरामले चलाउँथे। र, पनि जीवन त चलाउनु छ। त्यसैले काम गर्न सकुन्जेल काम गर्छु। नसकेको दिनलाई सोचेर आत्मबल गिराउँदिनँ।’

उनलाई अहिले राजनीतिप्रति त्यति लगाव छैन। ‘जुन कुराले चोट मात्र सम्झाउँछ, त्यसलाई सम्झूँ किन? बरु काम गर्छु। आफ्नै पौरखले बाँच्छु। मलाई आज बाँच्न पाए पुग्छ। भोलि के हुन्छ कसलाई के थाहा? जे होला, देखाजाएगा,’ यसरी मन बुझाउँछन् राई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *