• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रकाश सपुतले जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छः रामनारायण बिडारी

Bydeep

Mar 14, 2022

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काँधमा बोकेर नहिँड्ने विश्वास व्यक्त गरेका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “महाभियोग प्रस्ताव सिफारिस समितिले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको प्रमाण र आधार पेश गरेको स्थितिमा नेकपा एमालेले उहाँलाई जोगाउँछु भन्न मिल्दैन ।

यस्ता गन्हाएको चोलेन्द्रशमशेरलाई काँधमा बोकेर हिँड्दा जनताले के भन्लान् ? संविधानको धारा १०१ को प्रक्रिया पूरा गरी महाभियोग पारित भए उहाँ खोटो मान्छे साबित हुनुहुन्छ । त्यसैले आजको मितिसम्म हामी राजीनामा गर्नुमै कल्याण देख्छौं।”

माओवादी केन्द्रका नेता बिडारीले जनमुक्ति सेनालाई बदनाम गर्ने प्रकाश सपुत कपुत भएको आरोप पनि लगाए । उनले भने, “म गीत भिडियो हेर्ने मान्छे परिनँ । प्रकाश सपुतले कसैको चरित्र हत्या गर्न खोजेका हुन् भने उनलाई मुलुकको फौजदारी संहिता र प्रचलित कानुन अनुसार कठघरामा उभ्याउन सकिन्छ । जनमुक्ति सेनाका कारण नै आज उनले फुर्ति लगाएर हिँड्न पाएका हुन्, बोल्न र गाउन पाएका हुन् । जसले अधिकार दियो, उसैलाई बदनाम गर्न खोज्ने कपुत बन्न हुन्छ ?”

उनले म्युजिक भिडियो हटाए भने प्रकाश सपुतलाई एक पटकका लागि माफी दिन सकिने पनि बताए । बिडारीले थपे, “प्रकाश सपुत सर्जक हो । गल्ती भो भनेर युट्युबबाट हटाए भने एकपटकका लागि माफी दिन सकिन्छ । तर यो मेरो फाइनल कुरा होइन । यसमा प्रकाश सपुत फसेको जस्तो लाग्छ । उनले समयमै बेठीक दृश्य हटाएर जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छ ।”

माओवादी लडाकुको व्यवस्थापन गर्ने वातावरण बन्नुपर्ने उनले औंल्याए । उनले भने, “अहिलेसम्म माओवादीले एक्लै सरकार चलाउन पाएको छैन । अब एकपटक एकलौटी जिताउने हो भने हामी कसरी सरकार चलाउँछौं, त्यो देखाउँछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *