• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रदर्शनमा आयो ३ अर्ब ५० करोड भारतीय रुपैयाँमा निमार्ण भएको चलचित्र ‘राधे श्याम’

Bydeep

Mar 14, 2022

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता प्रभास र अभिनेत्री पुजा हेग्देको अभिनय रहेको चलचित्र ‘राधे श्याम’ प्रदर्शनमा आएको छ । ‘राधे श्याम’ भारतीय सिनेमाकै महँगोमध्येको एक चलचित्र हो । यो चलचित्र हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भएको छ ।

चलचित्रको अग्रिम बुकिङ पनि ठूलै मात्रामा भएको निर्माण पक्षले जनाएको छ । चलचित्र प्रदर्शनमा आउनुअघि नै यसले राम्रो व्यापार गर्ने अनुमान गरिएको थियो । तर, चलचित्र हेरिसकेपछि दर्शकको मिश्रित प्रतिक्रिया आएको छ । साथै दर्शकले सामाजिक सञ्जालमार्फत पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

अभिनेता प्रभास र अभिनेत्री पूजा हेगडेको उक्त चलचित्रको विषयमा दर्शकका तर्फबाट कयौं मिल्दाजुल्दा प्रतिक्रिया आएका छन् । कतिपय दर्शकले चलचित्रलाई त्यति राम्रो नभएको बताएका छन् । एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘राधे श्याम मध्यान्तर अगाडि राम्रो लाग्छ र मध्यान्तर पछाडि निराश बनाउँछ । यो ठूलो बजेटको झलक स्क्रिनमा भव्य लाग्छ ।’

अर्का एक दर्शकले राधे श्याम सुस्त कथन, दमदार ड्रामाको कमी र छिटो छिटो क्लाइमेक्सले मुडलाई थोरै खराब गरिदिने बताएका छन् । उनले लेखेका छन्, ‘यदि तपाई कम अपेक्षाका साथ जानुहुन्छ भने तपाई यसको लभ स्टोरी र यसको भव्यतासँग जोडिनुहुन्छ ।’ यस्तै, एकजनाले लेखेका छन् कि राधे श्याम एक फ्लप चलचित्र हो र प्रभासको हिन्दी डबिङ सबैभन्दा खराब रहेको जिकिर गरेका छन् ।

उनले दक्षिण भारतीय चलचित्रमा हिन्दी डब नगर्न भनेका छन् । एक फ्यानले राधे श्यामलाई बेस्ट क्लासिक चलचित्र भएको प्रतिक्रिया दिएका छन् । यो भारतीय सिनेमा जगतमा सबैभन्दा महँगो चलचित्रमध्येको एक हो ।सौर्य दैनिकमा खबर छ । यो चलचित्रको बजेट ३ अर्ब ५० करोड भारतीय रुपैयाँ छ ।

राधे कृष्ण कुमारको निर्देशनमा बनेको यो चलचित्रमा प्रेम र नियतिबीचको द्वन्द्वात्मक कथामा आधारित छ । चलचित्रमा प्रभासले ज्योतिषीको भूमिका निभाएका छन् । सन् १९७० को दशकको कथा भन्ने चलचित्रमा थोरै विज्ञानको कथासमेत रहेको छ । चलचित्रमा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको अभिनय छ । राधे श्याम प्रदर्शनमा आएसँगै अनलाइनमा लिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही वेवसाइट्ससँगै टोरेन्टमा चलचित्र राधे श्याम एचडी भर्सनमै लिक भएको हो । चलचित्र लिक हुनासाथ चलचित्रको ब्यापारमा निर्माण पक्षले निकै ठूलो नोक्सान व्योहोर्ने जनाइएको छ । योसँगै चलचित्रको बक्सअफिस कलेक्सनमा समेत ठूलो असर पर्नेछ । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्र भर्खर उठ्ने तर्खर गरिरहेको छ । यस्तोबेला चलचित्र लिक हुँदा लगानीकर्ताले ठूलो क्षति व्योहोर्नुपर्छ ।

हुनत यस चलचित्रले प्रदर्शन हुनुअगावै २०० करोडभन्दा बढी कमाइ गरिसकेको थियो । अभिनेता प्रभास तेलुगू सिनेमाका सुपरस्टार हुन् । चलचित्रले तेलुगू भाषामा सानदार ओपनिङ गरेको छ । तेलुगू भाषामा चलचित्रले पहिलो दिन ३० करोडको आसपास कलेक्सन गरिसकेको छ । यस्तै हिन्दीमा ५ करोडको कलेक्सन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *