पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मार्च ९ मा भारतीय पक्षबाट क्षेप्यास्त्र प्रहार भएको विषयलाई लिएर चेतावनी दिएका छन् । आइतबारको भाषणमा खानले भने, “मार्च ९ मा के भयो तपाईं सबैलाई थाहा छ । भारतीय पक्षबाट हाम्रो देशमा एउटा क्षेप्यास्त्र प्रहार गरियो । चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ तर हामीले सचेत भएर काम गऱ्यौँ ।
मार्च ९ मा भारतीय सेनाले अनआर्म्ड मिसाइल (हतियार नभएको क्षेप्यास्त्र) गल्तीले प्रहार गरेको थियो । करिब २६१ किमी दुरीमा उक्त मिसाइल पाकिस्तानको मियाँ चान्नु क्षेत्रमा खसेको थियो । यसमा कुनै हतियार नभएकाले कुनै क्षति भने भएन । भारतले आफ्नो गल्ती स्वीकार गर्दै उच्चस्तरीय छानबिन को आदेश दिएको थियो ।
आइतबार हाफिजाबादमा भएको एक भेलामा इमरानले भने, “भारतले हाम्रो देशमा मिसाइल प्रहार गरेको थियो । हामीले जवाफ पनि दिन सक्थ्यौँ । तर हामीले धैर्य र संयम भएर काम गऱ्यौँ । हामी मुठभेड चाहँदैनौँ, हामी आफ्नो देशलाई अझ बलियो बनाउन चाहन्छौँ। हामीले आफूलाई जोगाउनुपर्छ । अहिले हाम्रो अर्थतन्त्र पनि झन्-झन् बलियो हुँदै गइरहेको छ।
पाकिस्तानी पत्रकार मोहम्मद इब्राहिम काजीले सामाजिक सञ्जालमा भारतबाट प्रहार गरिएको क्षेप्यास्त्रको नाम ब्रह्मोस रहेको दाबी गरेका छन् । यसको दायरा २९० किलोमिटर छ। भारतीय वायुसेनाले राजस्थानको श्रीगंगानगरमा आफ्नो स्टक राखेको छ । तर, पाकिस्तानी सेनाले भने हरियाणाको सिर्साबाट मिसाइल प्रहार गरिएको दाबी गरेको छ ।
पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले संवेदनशील प्रविधिलाई सम्हाल्ने भारत सरकारको क्षमतामा प्रश्न गरेका छन्। सोसल मिडिया पोष्टमा उनले भने, “दिल्लीले यो उनीहरूको मिसाइल थियो भनेर स्वीकार्न दुई दिनभन्दा बढी लाग्यो । यो घटनाले संवेदनशील प्रविधिलाई सम्हाल्ने भारतको क्षमतामाथि प्रश्न उठाएको छ।’
उता विपक्षीले इमरान सरकारविरुद्ध अविश्वास प्रस्ताव अघि सारेको छ। भनिन्छ, उनको सरकारलाई बचाउन कठिन छ। त्यसैले, इमरान चुनावी मुडमा छन् । पाकिस्तान आर्मीले मिसाइल प्रहारको विषयमा केही पनि बोलेको छैन । तर इमरान र उनका मन्त्रीहरूले भने यो विषयलाई उठाइरहेका छन् ।