• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अनि क्याप्टेन थापाले ‘सय रुपैयाँमा’ बच्चाहरूलाई हेलिकप्टरमा उडाइदिए

Bydeep

Mar 15, 2022

धादिङ घर भई काठमाडौं बस्ने क्याप्टेन आनन्द थापा पाइलट हुन्। अहिले उनी अल्टिच्युड एयर हेलिकप्टर कम्पनीमा कार्यरत छन्। उनी पाइलट भएको १६ वर्ष भइसक्यो। आठ वर्ष सेनामा पाइलट भएर काम गरेपछि आठ वर्षयता उनी प्राइभेट कम्पनीमा आबद्ध छन्। मेजर पदमा पुगेर उनले सेना छाडेका थिए।

क्याप्टेन थापा आफ्नो कामबाट नेपालका विभिन्न ठाउँमा पुगिरहन्छन्। यसैबीच गत हप्ता उनी संखुवासभा पुगेका थिए। संखुवासभामा महोत्सव भएको एक परिवारले हेलिकप्टर चार्टर्ड गरेका थिए। दुर्गम ठाउँ र धेरै समय लाग्ने हुँदा परिवारले हेलिकप्टरबाटै जाने भनेर चार्टर्ड गरे। जम्मा ६ दिनको लागि काठमाडौंबाट हेलिकप्टर चालक दलसहित ६ जना संखुवासभाको मुडे पुगे। कामकै शिलशिलामा मुडे पुगेका उनको जिन्दगीमा एउटा रोचक घटना घट्यो।

कुरा गत मंगलबार मार्च ८ को दिन हो। उनी संखुवासभा पुगेको केही दिन भइसकेको थियो। त्यो दिन फ्लाइट सकेर उनले हेलिकप्टर ल्यान्ड गरेर बसिरहेका थिए। चालक दलले हेलिकप्टर नजिकै अरू कोही नजाओस् भनेर डोरी पनि बाँधेका थिए। ल्यान्ड गरेर क्याप्टेन थापा होटल जाने तरखरमा थिए।

‘गाउँमा हेलिकप्टर खासै पुगेको हुँदैन। संखुवासभामा पनि दुर्गम क्षेत्रहरू छन्,’ उनले भने, ‘स्टाफले ल्यान्ड गराउन अरू मान्छेहरूलाई रोकेर राखेको थियो। तर त्यो दिन ठूला मान्छे भन्दा पनि स-साना बालबालिकाहरू आए।’ दिनभरी हेलिकप्टर उडाएका कारण थापा थकित थिए। त्यत्तिकैमा केही बालबालिकाहरू उनीनजिकै आए। सामान्यतया पाइलट नजिकै कसैलाई पनि जान दिइँदैन थियो। तर त्यो दिन बालकबालिका उनी नजिकै पुगे।

‘म नजिकै बालबालिका कुद्दै आए। स्टाफले हेलिकप्टर नजिक आउन सुरक्षित भइसकेपछि उनीहरूलाई आउन दिए,’ उनले भने, ‘म त्यही बसेर मोबाइल चलाएर बसेको थिएँ। अरूले आफ्नो काम गरिरहेका थिए त्यसैले म कुरिरहेको थिएँ।’ उनी नजिकै आएका बालबालिकाहरूमध्ये एकले क्याप्टेनले सोधे, ‘अंकल, अंकल। हेलिकप्टरमा ठूलो मान्छे मात्रै चढ्छन् हो? हामी चढ्न पाउँदैनौं?’

क्याप्टेन थापाले ‘पाउने’ जवाफ फर्काए। तर त्यतिमै उनीहरूको जिज्ञासा सकिएन। ती बालकले फेरि सोधे, ‘सानो मान्छेको पैसा कति लिनुहुन्छ? सानो मान्छे मात्रै चढ्छम् नि।’ थापाले ती बालबालिकालाई लाग्ने खर्च बताएनन्। बरू एक सय रुपैयाँ भए पुग्छ भनेर जिस्किए।

‘त्यसरी सोधेपछि के जवाफ दिनु भन्ने जस्तो लाग्यो। हेलिकप्टर चढ्ने अपरेशन त महँगो हुन्छ,’ उनले भने, ‘बालबालिकालाई ५० हजार, ९० हजार, एक लाख लाग्छ भनेर कसरी भनौं जस्तो लाग्यो। अनि मैले जिस्किएर एक सय रुपैयाँ भए पुग्छ भनिदिएँ।’ उनले जिस्किएरै भनेका थिए। त्यही बालबालिकाको हुलमा १२ वर्षीय अभियान घिमिरेले पनि त्यो कुरा सुनेका थिए। उनी खुरूखुरू घर हिँडेका रहेछन्। घरमा गएर घिमिरेले आफ्ना बुवासँग एक सय रुपैयाँ मागेका रहेछन्। साना बालकले एक सय रुपैयाँ मागेपछि आमाबुवाले पनि प्रश्न नगर्ने कुरै भएन। पैसा के गर्नको लागि भनेर सोध्दा उनले सरल जवाफ दिए।

हेलिकप्टर चढ्न भनेपछि आमाबुवाले पनि हाँसेर एक सय रुपैयाँ दिएर पठाए। अभियान घरबाट पैसा लिएर क्याप्टेन थापासामु आइपुगे। ‘फेरि ती बालकहरू ग्याङ नै बटुलेर आए। अघि पनि आएका थिए। के भन्लान् भनेर मैले भिडिओ पनि खिच्न खोजे,’ उनले भने, ‘मैले सोधेँ। के भयो बाबु भन त। ती बालकले त्यसरी जवाफ फर्काउलान् भन्ने त मैले सोचेकै थिइनँ।’

त्यो प्रश्नको जवाफले उनी चकित भए। ‘अंकल यी लिनू एक सय रुपैयाँ। हामी बच्चाहरूलाई घुमाइदिनू,’ बालक घिमिरेले भनेको कुरा उदृत गर्दै भने, ‘पैसा दिएर हामीलाई घुमाइदिनू भनेपछि म ट्वाँ परेँ। कहाँ जाने भनेर सोधेपछि एक चक्कर लगाउने भनेर भन्यो। म त अक्कबक्क भएँ। के गरूँ, कसो गरूँ भयो।’ तर त्यो दिन हेलिकप्टरको मिसन सबै सकिइसकेको हुँदा उनले ती बालकलाई कतै लग्न सकेनन्। उनले भोलि लग्छु भनेर टारिदिए। क्याप्टेन थापाले होटल गएर त्यसबारे सोचे। उनलाई त्यसरी हेलिकप्टर चढाइदिनू भन्दै कसैले पहिलो पटक सोधेका थिए।

त्यसपछि उनले आफ्नो वाचाअनुसार भोलिपल्ट बिहानै अभियानको घर पुगे। घर पुग्दा ती बालक सुतिरहेका थिए। परिवारसँग अनुमति मागेर क्याप्टेन थापाले उनलाई घुमाउन लगे। ७ हजार फिटमा रहेको मुडेबाट १३ हजार ३०० फिटमा रहेको सभापोखरीमा लगेको उनले बताए। अभियानसँगै उनकी दिदी पनि सँगै लिएर उनले सभापोखरी पुर्‍याए। जहाँ हिउँ पनि परेको थियो। ‘म हेर्छु भनेर परिवारको अनुमति लिएर तीन जना बालकलाई राखेर लगेँ,’ उनले भने।

३२ मिनेट हवाइ यात्रा गरेर उनीहरू सभापोखरी पुगे। त्यहाँ केहीबेर बसेपछि क्याप्टेन थापाले उनीहरूलाई एक घण्टापछि घर पुर्‍याए। बाँकी बालबालिकाहरूलाई पनि आफू फेरि जाँदा घुमाउने भनेर वाचा समेत गरेको उनले बताए। ‘भोलिपल्ट अरू बालकलाई पनि लग्ने विचार भए पनि उनीहरूको स्कुल खुलेको थियो। सबैलाई लग्न पाइनँ,’ उनले भने,‘एक डेढ महिनापछि जान्छु होला। त्यही बेला अरूलाई लग्ने विचार छ।’

उनले खिचेको ती बालकको भिडिओ सामाजिक सञ्जालमा पनि राखे। जुन भाइरल बन्यो। त्यसरी भाइरल बन्छ भन्ने उनले सोचेका थिएनन्। हेलिकप्टर चढ्न एक सय रुपैयाँमात्र लिन्छु भने पनि उनले बालकसँग पैसा लिएनन्। उनी त्यही दिन काठमाडौं फर्किनुपर्ने काम भएको हुँदा त्यो उडानपछि सिधै काठमाडौं फर्किए। यसरी आफ्ना बालकलाई हेलिकप्टर चढाइदिएपछि परिवार पनि चकित भएको उनी बताउँछन्।

अबदेखि यसैगरी अरूलाई पनि घुमाइदिने उनले बताए। ‘यो घटनापछि मैले अरूलाई यसैगरी सय रुपैयाँमा हेलिकप्टर घुमाउने निर्णय गरेको छु। पैसा तिर्न नसकेर हेलिकप्टर चढ्न नसकेका मानिसहरूलाई म यसरी नै घुमाउने छु,’ उनले भने, ‘कतिपयको हावामा उड्ने सपना हुन्छ। तर सक्दैनन्। उनीहरूलाई मद्दत गर्नेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *