काठमाडौ । आइसियुमा उपचार गराइरहेका सुवासलाई आफ्नो परिवार नै सकिएको घटनाबारे थाहा भयो भने झन के होला ? केही दिन अघि ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका ५ जनाको निधन भएको थियो । उनीहरु कोठामा कोही बेहोस त कोही मृत अवस्थामा फेला परेका थिए । तर वेहोस अवस्थामा अस्पताल पुर्याइएका सुवास स्याङ्तान भने विस्तारै अब निको हुँदै छन् ।
उनलाई ५ दिन सम्म आइसियुमा उपचार गरियो । अहिले भने आइसियुवाट सामान्य वार्डमा सारिएको छ । फागुन २५ गते बिहान पाटन अस्पतालमा भर्ना गरिएका उनलाई अहिले मनमोहन अस्पतालमा लगिएको छ। त्यहाँ आईसीयूमा उपचारपछि उनलाई वार्डमा सारिएको हो।
बेहोस अवस्थामा अस्पताल लगिएका उनलाई किन उपचार गरिएको हो भन्ने समेत जानकारी छैन । अझै परिवार नै नरहेको थाहा भयो भने उनको अवस्था के होला ? उनलाई भेट्न पुगेका आफन्तले परिवारका बारेमा केही बताएका छैनन् ।
२४ गते राति सँगै सुतेको परिवार मध्य सुवास बाहेक सबैको निधन भयो । उनका दुई दिनका छोरालाई पनि उनीसँगै पाटन अस्पताल ल्याइएको थियो। तर, बच्चाको पनि मृत्यु भयो। अहिले घरमा ताला लागेको छ। सुवास अस्पतालबाट फर्किंदा घरमा ५५ वर्षीया आमा काइँली स्याङ्तान, श्रीमती २२ वर्षीया सुष्मा र सँगै बस्ने माइला दाइका छोरा ९ वर्षीय आशिष र ५ वर्षीया छोरी आसमा पनि हुने छैनन्।
फागुन २४ राति उनीहरुले २ दिनको शिशु र सुत्केरी सेक्न बालेको आगो ननिभाई सुत्दा सिंगो परिवार नै निस्सासिएर मृत्युको मुखमा पुगेको थियो। उनलाई बिरामी भएर अस्पताल ल्याइएको त भनिएको छ। तर के बिरामी भनेर प्रष्ट बताइएको छैन। अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको डाक्टरले आफन्तलाई जानकारी दिएका छन्।