एक नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई गैडाकोटबाट तनहुँ फर्काइएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरले आवश्यक बयान र सोधपुछ सकिएपछि पललाई तनहुँ नै फर्काइएको बताएको छ ।
उनीविरुद्ध एकजना नाबालिक गायिकाको परिवारले जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएका थिए । सुरुमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि पीडितका आफ्न्तले गैँडाकोटमा पनि जाहेरी दिएका थिए ।
अभिनेता शाहले नवलपुरको गैंडाकोटमा इन्कारी बयान दिएको प्रहरीले स्रोतले जानकारी दिएको छ। गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाकोट लगिएका शाहले त्यहाँ पनि नाबालिक गायिकालाई आफूले बलात्कार नगरेको बयान दिएका छन्। शाहले तनहुँमा पनि ती नाबालिग गायिकाको कोठामा छिरे पनि सँगै नसुतेर आफ्नै कोठामा फर्किएको बयान दिएका थिए ।
शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। त्यो पनि अब सकिन लागेको छ। प्रहरीले सरकारी वकिलमार्फत दुवैतिर मुद्दा अदालत लैजाने तयारी गरेको छ।
शाहले जाहेरी परेको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा गिरफ्तारी दिएका थिए।