• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बाबुआमा पुटिनको पक्षमा, छोराछोरी विपक्षमा

Bydeep

Mar 15, 2022

मस्को । रुसले युक्रेनमाथि आक्रमण गरेको तीन दिनदेखि भिक्टोरियाले आमासँग टाढिँदै गएको महसुस गरिन् । “मैले याद गरिरहेकी थिएँ कि विस्तारै मेरी आमा, युक्रेन युद्धबारे रुस सरकारले जे देखाइरहेको वा सुनाइरहेको छ त्यही बोलिरहनु भएको थियो । यो सबै नेटोको गल्तीका कारण भएको बताइरहनुभएको थियो । रुससँग आफूलाई बचाउन युद्धबाहेक अन्य कुनै विकल्प थिएन भनिरहनुभएको थियो,” २८ वर्षीया फेसन कन्सल्टेन्ट भिक्टोरिया भन्छिन्, “त्यसैले मैले उहाँको मानसिकता बदल्नलाई आफ्नो मिसन नै बनाउने निर्णय गरेँ । वास्तविकतामा के हुँदैछ भन्ने कुरा उहाँलाई देखाउने संकल्प लिएँ ।”

राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो छिमेकीसँग युद्ध सुरु गर्ने निर्णयले यतिबेला लाखौँ युक्रेनी परिवार विस्थापित भएका छन् । जहाँ पुरुष आफ्ना छोराछोरी, परिवार छाडेर युद्धमा जान बाध्य भए भने महिला बालबालिका हिंसाबाट बच्न देश बाहिरिन जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

तर, यसले युक्रेनमा मात्र नभएर रुसमै पनि परिवारबीच विभेद सिर्जना गरिरहेको छ । यसमा युवा पिँढी युद्धको विपक्षमा छन् भने तिनका आमाबाबुलगायत हजुरबुबा तथा हजुरआमा पुटिनको पक्षमा उभिएका छन् । यस्तो हुनुका पछाडि सामाजिक सञ्जाल र सूचना प्रवाहको स्रोतलाई जिम्मेवार मानिएको छ । किनकि पुरानो पुस्ताले प्रायः टीभीमा समाचार हेरेर सम्पूर्ण अवस्थाबारे जानकारी लिइरहेका छन् । हालैको एक सर्वेक्षणमा पनि रुसको ६० प्रतिशत जनसङ्ख्याका लागि टेलिभिजन नै सबैभन्दा ठूलो समाचारको स्रोत भएको देखिएको थियो ।

यसमा अझ ६५ उमेर माथिकाले टीभी हेर्ने सम्भावना ५१ प्रतिशतले बढी छ । रुसका राष्ट्रिय मिडिया सो युद्ध केबल रुसको विशेष सैन्य अपरेसन मात्र भएको भनी सबैको मस्तिष्कमा बसाउन तीव्र प्रचार गरिरहेका छन् । यहाँसम्म कि रुसी टेलिभिजनमा रुसी सेनाले गरेको बमबारी र ध्वस्त संरचनालाई युक्रेनी पक्षको नाटक भनेर प्रस्तुत गरिएको छ भने रुसले उल्टै युक्रेनी जनतालाई बचाउने प्रयास गरिरहेको भनेर देखाइएको छ ।

कार्नेज मस्को सेन्टरका एन्ड्रेई कोलेसनिकोभ भन्छन्, “यस्ता समाचार त्यस्तो शैलीमा प्रस्तुत गरिन्छ । जसले टीभी हेर्ने अधिकांशलाई रुसका कदम कुनै न कुनै रूपमा समर्थन गर्ने बनाइदिन्छ ।”त्यसैले पनि युक्रेन युद्धले साथीभाइ र परिवारबीच विवाद उत्पन्न गराउनु आश्चर्यजनक नभएको उनले बताए । उनी भन्छन्, “सूचनाका लागि टीभीमै निर्भर त्यस्ता मानिसलाई आफ्नोतर्फको पक्ष चाहिँ नराम्रो हो भन्ने स्वीकार्न एकदमै कठिन हुने गरेको छ ।”

युक्रेनको पक्षमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेपछि भिक्टोरियाले देश छाड्ने निर्णय गरिन् । उनकाअनुसार अनेकौँ प्रयासपछि अन्ततः उनले आफ्नी आमालाई के सही र के गलत भन्ने कुरा बुझाउन सफल भइन् । यसरी विनाशकारी युद्धमा रुसको भूमिकाबारे आमालाई सम्झाउन सजिलो नभएको उनी बताउँछिन् । अहिले उनी आफ्ना अरू दाइ, अंकललगायत आफन्तलाई पनि बुझाइरहेकी छन् ।

उनले ठट्टा गर्दै भनिन्, “मसँग सबैको सूची नै छ । र, यो मिसन वास्तवमै झन्झन कठिन बन्दै गइरहेको छ ।” यसरी शुक्रबार मात्र रुसमा फेसबुक र ट्विटरपछि इन्स्टाग्राम पनि ब्लक गरियो । यसको अर्थ अब त्यहाँका मानिससँग सूचना तथा जानकारी लिन एकदम कमै स्वतन्त्र मिडिया बाँकी छन् । र, आगामी दिनमा बाहिरी जानकारीमाथि झन् कडाइ अपनाइने छ भने राष्ट्रिय मिडियाको प्रचार अझ प्रभावकारी र तीव्र बनाइने निश्चित छ ।

मस्कोका प्राविधिकविद् डिमिट्रीको त यही कारण परिवारसँगको सम्बन्ध नराम्ररी बिग्रिएको छ । युद्धको एक हप्ताअगाडि मात्र उनी आफ्ना बाबुआमासँग बस्न गएका थिए । यसमा उनले दिनदिनै सबैलाई वास्तविक परिस्थितिबारे जानकारी दिने गर्थे र युक्रेनी सहरमा रुसले मच्चाएको हिंसा र क्षतिसम्बन्धी स्वतन्त्र ब्लग र आधिकारिक मिडियाले राखेका भिडियो देखाउने गर्थे ।

तर, यसो गर्दैगर्दा उनको परिवार झन्झन रुसको समर्थनमा लागेको र कुनै पनि कुराको प्रभाव पर्न छाडेको उनी बताउँछन् । त्यसैले एक हप्तापछि उनी फेरि आफ्नै घरमा छुट्टै बस्न थालेका हुन् । उनी भन्छन्, “पछि मेरी आमाले मलाई म्यासेज गर्दै मैले आफ्नो देशलाई धोका दिइरहेको छु भन्ने आरोप लगाउनुभयो ।”यति मात्र नभएर गत बिहीबार उनका बुबाले उनलाई युक्रेनको मेरिउपोलको सुत्केरी अस्पतालको हमलामा युक्रेनले नै नाटकीय रूपमा बमबारी गरेको भन्ने एउटा न्यूज क्लिप पठाएका थिए ।

जुन वास्तवमा फेक थियो । यो ‘कन्सपिरेसी थेउरी’ अर्थात् भ्रामक जानकारीको रुसी अधिकारीले पनि व्यापक प्रचार गरेका छन् । यसबारे उनी भन्छन्, “यो कुराले मलाई एकदमै आक्रोशित बनायो । म अब सायदै कहिल्यै आफ्नो परिवारसँग एउटै टेबलमा बसेर खान सक्छु । किनकि उहाँहरूले मलाई साच्चिकै देशको शत्रुका रूपमा हेरिरहनुभएको छ । मैले पनि बुझाउन नसकेर हार मानिसकेँ ।”

यसअघि बीबीसी र न्यूयोर्क टाइम्ससँग बोल्दै युक्रेनीले रुसमा रहेका कुनै आफन्तले पनि आफ्ना सहरहरूमा बमबारी भएको कुरा विश्वास नगरेको बताएका थिए । राजधानी किभमा बसिरहेकी ओलेकसेन्द्रा भन्छिन्, “मेरा बुबाआमाले यति मात्र बुझ्नुभएको छ कि युक्रेनमा रुसी सैनिक विशेष सैन्य अपरेसनमा छन् । उहाँहरू मलाई भन्नुहुन्छ, “रुस तिमीहरूलाई स्वतन्त्रता दिन आएको हो । उनीहरूले केही बिगार्दैनन् । तिमीलाई छुँदैनन् । केबल सैन्य बेसहरूमा मात्र हमला गर्नेछन् ।”

एक चर्चित रुसी ब्लगर इल्या क्रासिलिसिकले इन्स्टाग्रामका आफ्ना ११ लाख फलोअरलाई युक्रेन युद्धका कारण परिवारमा जारी झगडाका कथा आफूलाई पठाउन भनेका थिए । जसपछि उनले सयौँ त्यस्ता घटनाको ‘स्क्रिनसट’ प्राप्त गरे र केही पोस्ट पनि गरेका थिए । जसमा त्यहाँका युवा आफ्ना बुबाआमासँग सहमत हुन सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *