भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको इतिहास, भूगोल र देशको राजनीतिक विषय वस्तुलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माण समितिका पदाधिकारीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा उनले विश्वको इतिहास र भूगोलको विषयमा विद्यार्थीलाई राम्रोसँग अध्यापन गराउनुपर्नेमा जोड दिए।
विद्यार्थीलाई विद्यालयस्तरदेखि शिक्षित बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेले शिक्षकले समाजमा आमूल परिवर्तनको निम्ति योगदान पुर्याउनुपर्ने बताए। शिक्षकले भाषागत शुद्धाशुद्धि र नेपाली भाषामा विशेष दख्खल राख्नुपर्ने औँल्याउँदै उनले सत्तामा बसेका दलका नेताहरूमा दूरदर्शी सोच नराख्दा समस्या आएको बताए।
अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाबाट गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका पदाधिकारी योगेन्द्रमान बिजुक्छेँ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू, रोशनराज तुईतुई र राजेन्द्रप्रसाद श्रेष्ठलाई प्रोत्साहन स्वरुप नगद रु ५० हजार प्रदान गरे।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी ९२ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दै ख्वपको पहिचान भाग १ र भाग २ प्रकाशनमा ल्याएको बताए। सस्तो र गुणस्तरीय शिक्षा अहिले भक्तपुरको विशेषता बनेको छ भन्दै उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई लागू गर्ने भक्तपुर नै पहिलो नगरपालिका भएको बताए।
नगरपालिका उपप्रमुख रजनी जोशी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँ, सदस्य सिद्धिरत्न शाक्यलगायतले समाजको आवश्यकता र रुचिअनुसार पाठ्यक्रम परिमार्जन गर्दै लानुपर्ने बताए ।