काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा नेता शालिकराम जमरकट्टेललाई मुख्यमन्त्री बनाउन पहल सुरु गरेको छ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमरकट्टेललाई मुख्यमन्त्री बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहल सुरु गरेका माओवादी स्रोतले जनाएको छ ।
धनगढी पुगेका प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा सुदूरपश्चिम छाड्ने जवाफ दिएको खुलासा गरेका हुन् । उनले यसो भनेसँगै बागमतीमा माओवादीले मुख्यमन्त्री लिन खोजेको सन्देश गइसकेको छ । गठबन्धन दलबीच सहमति अनुसार बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्नुपर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद छाड्न मानेका छैनन् ।
सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र हो । देउवाले त्यहाँ काँग्रेसबाट मुख्यमन्त्री बनाउन चाहेको बुझिएको छ । अहिले माओवादीबाट त्रीलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन् । भट्टको ठाउँमा काँग्रेसबाट मुख्यमन्त्री ल्याउने प्रयास चलिरहेको बुझिएको छ । यस्तै चुनावको मुखैमा नेकपा एकीकृत समाजवादी छोडेर दुई मन्त्री एमालेमा जाने तयारी गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता समेत रहेका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ नेकपा एमालेमै फर्किने तयारी गरेका हुन् ।
चुनाव नजिकिँदै गएपछि उनीहरू एमालेमै फर्किने तयारीमा जुटेका हुन । आले र श्रेष्ठले पुनः एमाले फर्किने तयारीका लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता वाक्लो बनाएपछि समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संकेतिक कुरा गर्दै उनीहरूको प्रवृतिको बिरोध गरेका छन । उनीहरूले यसअघि नै देखि एमालेमा फर्किने प्रयास गर्ने र त्यो प्रयास सम्भव नभए कांग्रेस नै प्रवेश गरेर भए पनि प्रतिनिधिसभाको अबको चुनाव जित्ने निष्कर्षमा आफ्ना गतिबिधि अघि बढाएका छन ।
यद्यपी कांग्रेस प्रवेश गरेपनि उनीहरूले अहिले राजनीति गर्दै आएको भूगोलमा टिकट पाउने सम्भावना निकै न्यून रहेको छ । आलेको क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनावी प्रतिस्पर्धा गर्दै आएका छन भने श्रेष्ठको क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति गर्दै आइरहेका छन । त्यसकारण उनीहरू एमालेमै फर्किएर आफनो राजनीति जोगाउने अभियानमा लागेका छन । आलेले त नेकपा एमाले निकटका व्यक्तिलाई धामाधम नियुक्ति समेत दिइरहेका छन । उनको सल्लाहकारको भूमिकामै नेकपा एमालेका नेता चन्द्र रिजाल रहेका छन ।