• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

वार्ता सकारात्मक भइरहेको खबर छ, रुसी सैनिक ‘अलमलिएका’ छन् : जेलेन्स्की

Bydeep

Mar 15, 2022

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश गरेको र मंगलबार टर्कीमा वार्ता हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो नियमित भिडियो सन्देश सार्वजनिक गर्दै जेलेन्स्कीले ‘वार्ता सकारात्मक’ भइरहेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गरेका छन् ।

‘तर के हुन्छ हेरौँ । वार्ता भोलि (मंगलबार) फेरि जारी रहने छ’, स्थानीय समय अनुसार सोमबार राति पोस्ट गरेको भिडियो सन्देशमा उनले भनेका हुन् । सोमबार लुहान्स्क र किएभ क्षेत्रबाट तीन हजार ८०६ जनालाई सुरक्षित स्थानमा जानका लागि युक्रेनी सुरक्षाकर्मीले सहयोग गरेको उनले बताएका छन् ।

रुसी सैनिकको घेराबन्दीमा रहेको मारिपोल शहरका लागि पठाइएको १०० टन अत्यावश्यक सामग्रीसहितका सवारीहरु बिचमै रोकिएका छन् । सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकहरु युक्रेनको प्रतिरक्षालाई देखेर ‘अलमल’ मा परेको बताएका छन् । उनीहरुको अपेक्षा विपरित युक्रेनले प्रतिरक्षा गरिरहेको जेलेन्स्कीले बताए ।

जेलेन्स्कीले दाबी गरेका छन्, ‘उनीहरुले युद्ध मैदान छोडेका छन् । हतियार छोडेर भागेका छन् ।’ रुसी सैनिकले छोडेका हतियारहरु आफूहरुले युक्रेनको रक्षाका लागि प्रयोग गरिरहेको पनि जेलेन्स्कीले दाबी गरेका छन् । उनले भनेका छन्, ‘वास्तवमा भन्ने हो भने अहिले रुसी आर्मीहरु हाम्रा सैनिकका लागि चाहिने हतियारका आपूर्तिकर्ता बनेका छन् । उनीहरुले सपनामा पनि यस्तो हुन्छ भन्ने सोचेका थिएनन् होला ।’

उनले युद्धको सत्य जानकारी फैलाउनका लागि गरिरहेको प्रदर्शन तथा प्रयासका लागि पनि रुसी नागरिकलाई उनले धन्यबाद दिएका छन् । उनले रुसी टेलिभिजन च्यालन १ मा समाचार प्रशारण भइरहेका बेला युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गर्ने महिलालाई व्यक्तिगत रुपमा धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *