निजामती कर्मचारीका सन्ततिले स्नातक तहमा अध्ययनका लागि १ लाखदेखि ५ लाख रुपैयाँसम्म छात्रवृत्ति पाउने भएका छन् । तीन वर्षदेखि रोकिएको छात्रवृत्ति कार्यक्रम पुन: सुचारु हुने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका,२०७८ बिहीवारको मन्त्रिपरिषद बैठकबाट स्वीकृत भइसकेको छ ।
निजामती कर्मचारीका सन्ततिलाई स्वदेशी विश्वविद्यालयको आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनका लागि योग्यताका आधारमा सन्तति शैक्षिक प्रोत्साहन वृत्ति दिन लागिएको हो। मुलुकमा हाल करीब ८८ हजार निजामती कर्मचारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक छ ।