काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न नेकपा विप्लवका नेता बालुवाटार पुगेका छन् । उनीहरुबीच झण्डै २ घण्टा लामो बार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेट गरेका हुन् । ९ बजेदेखि भएको वार्ता झण्डै दुई घण्टा लामो चलेको थियो । सो बीचमा प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच विविध विषयमा कुराकानी भएको नेकपा स्रोतले पुष्टि गरेको छ ।
भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण,गृहसचिव टेकप्रसाद पाण्डेको समेत उपस्थिति थियो । कुराकानीको मुख्य विषय केपी शर्मा ओलीको सरकारले नेकपासँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन भएको नेकपाले जनाएको छ । सो क्रममा प्रकाण्डले आफ्ना ८७ जना नेता तथा कार्यकर्ता अझै जेलमा रहेकाले सम्झौताको अक्षरशः र तत्काल कार्यान्वयनमा जोड दिएका हुन् ।
यसअघि २०५२ सालमा पनि अहिलेका प्रधानमन्त्री देउवालाई नै ४० बुँदे माग बुझाएर तत्कालीन माओवादी जनयुध्दमा गएको थियो । जनयुध्दका कारण मुलुक र जनताले झण्डै डेढ दशक सबै क्षेत्रमा निकै कष्ट भोग्नुपरेको थियो ।