• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘द काश्मिर फाइल्स’ बारे मोदीसमेतले किन पोखे गुनासो ?

Bydeep

Mar 16, 2022

मुम्बई: बलिउड फिल्म ‘द काश्मिर फाइल्स’ यतिबेला चर्चाको विषय बनेको छ। काश्मिरी पण्डितहरुको कथावस्तुमा तयार पारिएको यो फिल्मलाई विवेक अग्निहोत्रीले लेखेका छन् भने उनैले निर्देशनसमेत गरेका छन्। फिल्ममा मिथुन चक्रवती, अनुपम खेर, दर्शन कुमार, पल्लभी जोशी, चिनमे मन्डेकललगायतले मुख्य अभिनय गरेका छन्। यो फिल्म गत ११ मार्चमा रिलिज्ड भएको थियो। रिलिज्डसँगै यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको छ भने सार्वजनिक बहसको विषयसमेत बनेको छ।

भारतका कतिपय राज्यमा यो फिल्मलाई ‘ट्याक्स फ्री’समेत बनाइएको छ। फिल्मकै कारण कमेडियन किपल शर्मा, अभिनेत्री कंगना रनौट, क्रिकेटर सुरेश रैनजस्ता हस्तीहरु ट्रोलका शिकार बनेका छन्। फिल्मबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रतिक्रिया दिएका छन्। उनले इतिहासलाई किताब, कविता, साहित्य र फिल्मको माध्यमबाट जीवन्त बनाउन सकिने बताए। तर दुर्भाग्य त्यस्तो काम विरलै हुने गरेको उनको भनाइ थियो।

‘हाम्रो देशको दुर्भाग्य हो कि हाम्रा इतिहासलाई सही समयमा सही तरिकाले बताउन सकिएन। इतिहास भन्न महत्वपूर्ण माध्यम किताब, कविता, साहित्य र फिल्म हो,’ उनले भने, ‘संसारमा मार्टिन लुथरबारे कुरा हुन्छन्, नेल्सन मन्डेलाबारे छलफल हुन्छन्, तर महात्मा गान्धीबारे थोरैमात्र बहस गरिन्छ।’

उनले महात्मा गान्धीबारे त्यहीबेला फिल्म बनाएर संसारलाई राम्रो सन्देश दिन नसकिएको गुनासो गरे। ‘पहिलोपटक एक विदेशीले महात्मा गान्धीबारे फिल्म बनाए। फिल्मले धेरै पुस्कार जित्न थालेपछि महात्मा गान्धीको महानताबारे चर्चा सुरु भएको थियो,’ उनले भने। उनले ‘फ्रिडम अफ एक्सप्रेशन’को कुरा सबैले गरे पनि कुनै पनि विषयबारे ठीक समयमा फिल्म बनाउन नसकिएको बताए। यसको मूल कारण सत्यलाई दबाउन प्रयास गर्ने गरिएको उनले बताए।

उनले द काश्मिर फाइल्सको तथ्यमाथि विश्लेषण गर्न छाडेर फिल्मविरुद्ध आवाज उठेको भन्दै गुनासो पोखे। ‘मेरो विषय फिल्म होइन। मेरो विषय यो हो कि सत्यलाई सही तरिकाले देशसामु ल्याउनु र देशको भलाइ गर्नु। त्यसका धेरै पक्षहरु हुन सक्छन्। कुनै चिजलाई एउटाले एक पक्षबाट हेर्न सक्छन् भने अर्कोले अर्को पक्षबाट हेर्न सक्छन्। यदि फिल्म मन पर्दैन भने अर्को फिल्म बनाउने सबैलाई छुट छ। तर सत्यमा आधारित फिल्मबारे तथ्यहीन कुरा गर्नु र असफल बनाउने प्रयास गर्नु राम्रो होइन,’ उनले भने। उनले सत्यको साथ दिन सबैसँग अपिलसमेत गरेका छन्। -बीबीसी हिन्दीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *