• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन, रुससँग अन्तिम समयसम्म लड्ने वाचा

ByAgrim Post

Mar 16, 2022

२१ दिनदेखि रुसको आक्रमण झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गर्नुभएको छ । जेलेन्स्कीले भिडिओमार्फत सम्बोधन सुरु गर्नुअघि सबै सांसदहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए ।

अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहयोग र सद्भावका लागि अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिँदै रुससँग अन्तिम सेकेन्डसम्म पनि लडिरहने र कहिल्यै हार नमान्ने दृढता व्यक्त गर्नुभएको छ ।

उहाँले युक्रेन अहिले आफ्नो देशको रक्षाका लागि मात्रै नभइ समग्र युरोप र विश्वभरका देशको सार्वभौमसत्ताका लागि पनि लडिरहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी आक्रमणमा युक्रेनका धेरै बालबालिकाले ज्यान गुमाएको र लाखौँ विस्थापित भएकोमा भावुक हुँदै जेलेन्सीले यो विषय आफ्नो लागि सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताउनुभएको छ ।

अमेरिकासहितका देशले रुसमाथि लगाएको कडा प्रतिबन्धको स्वागत गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसमा रहेका आफ्ना सबै व्यवसाय र कम्पनी फिर्ता ल्याएमा थप दबाब बढ्ने पनि उल्लेख गर्नुभएको छ ।

आफूले पटक–पटक युक्रेनलाई उडान निषेधित क्षेत्र घोषणा गर्न नेटोसँग माग गरे पनि यसको सुनुवाइ नभएकोमा असन्तुष्टि जनाउँदै जेलेन्स्कीले रुसी आक्रमणको प्रतिरोध गर्न थप जहाजहरू आवश्यक रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *