युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएका रुसी सैनिकलाई सिरिया, चेचन्या र अफगानिस्तानमा भएको युद्धभन्दा पनि बढीको क्षती भएको हालैको सम्बोधनमा दाबी गरेका छन्।रुसका जनतालाई रुसी भाषामा सम्बोधित गर्दै जेलेन्स्कीले भने, ‘रुसी सैनिकले युक्रेनमा जति क्षती व्यवहोर्नुपरेको छ त्यो न त सिरियामा भयो न चेचन्यामा । सोभियतका सैनिकले अफगानिस्तानमा पनि त्यति क्षती व्यवहोर्नुपरेन ।’
यो सन्देश रुसमा धेरै मानिससम्म पुगेको पनि छैन होला किनभने रुसमा युद्धसँग जोडिएका जानकारीमा कडा नियन्त्रण छ । राष्ट्रपति जेलेन्स्की यो निष्कर्षमा कसरी पुगे भन्ने पनि पत्ता लाग्न सकेको छैन ।
अमेरिकी इन्टेलिजेन्सको अनुमान अनुसार युक्रेनमा रुसको हमलाका बेला ७००० भन्दा पनि बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । अन्य आँकडाका अनुसार करिब १५००० सोभियत सैनिक अफगान युद्ध (सन् १९७९–८९) मा मारिएका थिए र कम्तिमा १३,००० रुसी सैनिक चेचन्या युद्धमा मारिएका थिए । सिरियामा यो संख्या सयौँ संख्यामा छ ।