• Wed. Nov 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बलात्कार अभियोग लागेका एमाले सांसद बानियाँ पाँच लाख धरौटीमा रिहा

Bydeep

Mar 17, 2022

जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका उनी सात दिनपछि रिहा भएका छन् । बाँके जिल्ला अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

जुम्लाकी ४० वर्षीया महिलाले आफूलाई होटेलमा बोलाएर सांसद बानियाँले जबर्जस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा बाँके प्रहरीले उनलाई १६ फागुनमा नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । ‘बाँके प्रहरीले जबर्जस्ती करणी गरेको दाबीसहित अदालतमा कागजात पेस परेको थियो, तर अदालतले उहाँ (मोहन बानियाँ) लाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ,’ एसपी अधिकारीले भने ।

काठमाडौंबाट नेपालगन्ज आउने क्रममा पक्राउ परेका सांसद बानियाँले आफूले जाहेरी दिने ४० वर्षीया महिलालाई जबर्जस्ती करणी नगरेको दाबी गर्दै आएका छन् । उनले अदालतमा पनि सोही बयान दिएको कानुन व्यवसायी विकास आचार्यले बताए । ‘उहाँ (बानियाँ) लाई सादा तारिखमा अदालतले रिहा गरेको छ । मुद्दा विचाराधीन छ । सजाय हुने–नहुने अन्तिम फैसलापछि मात्र थाहा हुन्छ,’ उनले भने ।

सांसद बानियाँले माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । ती महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । ‘उजुरीको आधारमा बाँके प्रहरीले पक्राउ गरि अदालतमा पेस गरेकै हो । अदालतमा पेस गरेको जाहेरीमा बानियाँले महिलालाई जबर्जस्ती करणी गरेको दाबीसमेत गरेका थियौँ,’ एसपी अधिकारीले भने, ‘प्रमाण नपुगेर होला अदालतले धरौटीमा छोड्ने निर्णय गरेको हुनुपर्छ ।’

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै नेपालगन्जस्थित होटेलमा बोलाएको र त्यहीँ आफूलाई जबर्जस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् । उनी निलम्बनमा परिसकेका छन् ।नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *