• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बैगुनी भए पनि ओलीसँग मिल्नुपर्‍यो भनेको अनेक शर्त तेर्साए: प्रचण्ड

Bydeep

Mar 17, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी असफल गराउन आफूले एमाले अध्यक्ष केपी ओलीसँग मिल्न कोशिस गरेको स्वीकारेका छन्। प्रज्ञा भवनमा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसिसी पारित गर्न खोजेपछि ओलीसँग छलफल अघि बढाएको खुलासा गरे।

‘देउवाजी पहिला त एमसिसीको विरूद्धमा भोट हाले पनि मान्न तयार हुनुभएको थियो। तर दुई दिनपछि जसरी पनि पारित गर्ने भन्न थाल्नुभयो,’ उनले भने, ‘बैगुनी भए पनि ओलीसँग सहकार्य गर्नुपर्‍यो भनेर प्रस्ताव गरेको अनेक शर्त राख्न थाले। त्यसपछि मैले एमालेसँग छलफल गरिनँ।’

सहकार्यका लागि सबभन्दा पहिला सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने, १४ सांसद निश्कासन गर्न सहयोग गर्नुपर्ने र २०७७ कात्तिकमा राखेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने शर्त ओलीले राखेको प्रचण्डले बताए। प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न ओलीसँग संघदेखि प्रदेशका सबै सरकारमा सहकार्य गर्न खोजेको समेत कार्यकर्तालाई सुनाएका थिए।

‘ओली प्रधामन्त्री बन्ने, सबै प्रदेशमा उनीहरूकै सरकार बन्ने अवस्था आउने देखियो। सभामुखको पद जाने, १४ सांसदको पद जाने अनि ओलीको षड्यन्त्र त कति हो कति’, प्रचण्डको भनाई उद्धृत गर्दै एक सहभागीले सेतोपाटीसँग भने, ‘त्यही बेलामा मैले अन्तर्राष्ट्रिय कानुन बुझेकासँग सल्लाह गरेँ। व्याख्यात्मक टिप्पणी गरेर जाँदा सहज हुन्छ भनेपछि यस्तो गरेका हौ।’

पार्टीको उपस्थिति राम्रो भएकोले तालमेल हुनैपर्छ भन्नेमा आफू नरहेको उनले बताए। ‘कतिपय ठाउँमा अन्तिम अवस्थामा तालमेल हुनसक्छ। तर हामी आफैं बलिया छौं भने किन डराउनू,’ प्रचण्डले भने। अध्यक्ष ‘प्रचण्ड’ले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन कार्यकर्तालाई निर्देशनसममेत दिएका छन्।

‘गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र हामी फेरि भोलि पनि राम्रै पोजिसनबाट हुन्छौं भन्ने दिमागबाट हटाइदिनू,’उनले भने,’हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा हामीले चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ। हामीले सबैले यो लडाइँ जित्न सबै तागत लगाउनुपर्छ भन्ने अर्थमा बुझ्न जरूरी छ।’ प्रचण्डले दुइटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने र अरूलाई सिध्याउने षडयन्त्र भएको समेत आरोप लगाए।

आउने सबै निर्वाचन पार्टीको लागि जीवन मरणको लडाइँ भएको समेत उनले बताए। ‘दुइटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने, अरू क्रान्तिकारी पार्टी जनपक्षीय पार्टी उत्पीडित हक अधिकार र पहिचानको कुरा गर्ने पार्टीलाई सिध्याउने षडयन्त्र छ,’उनले भने,’आउने निर्वाचन चाहे त्यो स्थानीय तहको होस् चाहे, त्यो संघ र प्रदेशको होस्, हाम्रो लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन। हाम्रो लागि यो ‘लाइफ एण्ड डेथ’को लडाइँ भएर आउँदैछ।’

पार्टीभित्र अराजकता, गुटबन्दी हाबी भयो

यसैबीच अध्यक्ष प्रचण्डले पार्टीभित्र अराजकता, गुटबन्दी हाबी भएको बताएका छन्। वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताएका हुन्। युद्वको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद पाइएन भनेर रूने, कराउने र भाग्नेको जमात बढेको धारणा राखे।

त्यस्तै उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरूरी रहेको उल्लेख गरे। संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाई थियो। त्यस्तै उनले अहिले जतिनै क्रान्तिको कुरा गरिरहे पनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *