• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसी राष्ट्रपतिले भने- विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आत्मसमर्पण गर्दैनौं, युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्छौं

Bydeep

Mar 17, 2022

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्ने पुन: दोहोर्‍याएका छन्। राष्ट्रिय टेलिभिजनमा प्रसारित सरकारी बैठकमा बोल्दै पुटिनले उक्त कुरा दोहोर्‍याएका हुन्। उनले विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आफूहरुले आत्मसमर्पण नगर्ने पनि बताएका छन्।

‘पश्चिमी देशहरू रुसलाई कमजोर निर्भर देशमा परिणत गर्न चाहन्छन्,’ बुधबार बैठकमा बोल्दै उनले भने,‘यसको क्षेत्रीय अखण्डता उल्लङ्घन भएको छ। रुसलाई आफू अनकुल टुक्राटुक्रा पार्न खोजिएको छ।’ पश्चिमा देशहरुको प्रतिबन्धहरूबाट निम्त्याएको असर स्पष्ट रूपमा देखिन थालेको स्वीकार गर्दै उनले मुद्रास्फीति र बेरोजगारी बढ्ने र अर्थतन्त्रमा संरचनात्मक परिवर्तनहरू आवश्यक पर्ने बताए।

उनले रुस वार्तामा युक्रेनको तटस्थबारे छलफल गर्न तयार रहेको बताए । ‘हाम्रो देश र यसको भविष्यको लागि सिद्धान्तको प्रश्न ( युक्रेनको तटस्थ स्थिति, यसको डिमिलिटाइजेसन र यसको डिनाजिफिकेशन हो। हामी तयार थियौं र हामी वार्ताको एक भागको रूपमा छलफल गर्न तयार छौं,’ उनले भने। यता, युक्रेन र रुसले अस्थायी १५ बुँदे शान्ति योजनामा महत्वपूर्ण प्रगति गरेको बताइएको छ। फाइनान्सियल टाइम्सले वार्तामा संलग्न तीन व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

यदि युक्रेनले तटस्थताको घोषणा गर्छ र आफ्नो सैनिकमा कटौती गर्छ भने रुस युद्धविराम र आफ्नो सेना फिर्तीको लागि तयार भएको बताइन्छ। प्रस्तावित सम्झौताबारे दुवै देशका वार्ताकारहरूले सोमबार पहिलो पटक पूर्ण रूपमा छलफल गरेका थिए। युक्रेनले नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा त्यागेको र अमेरिका, बेलायत र टर्कीजस्ता सहयोगीहरूबाट सुरक्षाको बदलामा विदेशी सैन्य अड्डाहरू वा हतियारहरू नलिने वाचा गरेको बताइन्छ। समाधान नभएका मुद्दाहरूमा युक्रेनी सुरक्षाका लागि पश्चिमी ग्यारेन्टीको प्रकृति र रूसले २०१४ मा कब्जा गरेको युक्रेनी क्षेत्रहरूको स्थिति समावेश रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *