• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

साढे चार वर्षसम्म वडा सदस्यमा जितेको थाहै नपाउने रम्भादेवी मलाह

Bydeep

Mar 17, 2022

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१७ निवासी रम्भा देवी मलाह ०७४ सालको स्थानीय तहको चुनावमा वडा नम्बर १७ को वडा सदस्यकी उम्मेदवार थिइन्। स्थानीय तहको चुनावमा उनलाई पनि साविकको संघीय समाजवादी फोरम नेपाल हालको जनता समाजवादी पार्टी नेपालले वडा सदस्यमा टिकट दिएको थियो।

मलाह ०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचितसमेत भइन्। तर, उनलाई अहिले करिब साढे चार वर्ष स्थानीय तहको चुनाव भएको बितिसक्दासमेत उनलाई आफू निर्वाचित भएको र जनताको जनप्रतिनिधि भएको भन्ने कुरा थाहा पनि हुन सकेन। मलाहलाई भर्खरै केही महिनाअघि मात्र आफू ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएको कुरा थाहा भयो।

उनले हालसम्म न कुनै भत्ता लिएकी छिन् न त वडा सदस्यले गर्ने काम नै कुनै गर्न सकेकी छन्। धेरैले वडा सदस्यको खासै काम नभएकाले नगरेको होला भनेर बुझ्छन् तर यहाँ अर्कै कुराले मलाहलाई वडा सदस्यमा आफू निर्वाचित भएको कुरा थाहा नहुनु भन्ने कुरा उनले मंगलबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराइन्।

उनले आफ्नो स्थानमा अन्य व्यक्तिलाई वडा सदस्य बनाएर कार्य गराएको आरोप लगाइन्। उनले ०७४ सालको स्थानीय तहको चुनावमा आफू वडा सदस्यमा निर्वाचित भए पनि अन्य व्यक्तिलाई नै वडा सदस्य बनाइ वडा कार्यालयले कार्य गराएको आरोप लगाइन्।

स्थानीय तहको चुनावमा वीरगञ्ज महानगरपालिका–१७ को वडा सदस्यमा आफू निर्वाचित भए पनि वडाका जनप्रतिनिधिकै मिलेमतोमा सोही स्थान बस्ने जादो लाल सहनीकी श्रीमती गायत्री देवीलाई किर्ते गरी वडा सदस्यको शपथग्रहणसमेत गराइ कार्य गराएको पत्रकार सम्मेलनमा मलाहले बताइन्।

आफ्नो स्थानमा किर्ते गरी वडा सदस्यको शपथग्रहण गरेकी गायत्रीले वडा कार्यालयबाट समेत भत्तालगायत अन्य सेवा–सुविधा उठाएर खाएको उनको भनाइ थियो। आफू वडाको सदस्य पदमा निर्वाचित भए पनि आफूलाई थाहै नदिइ आफ्नो सक्कली नागरिकतासमेत गायत्रीका श्रीमान् जादेलालले लिएर किर्ते गरी श्रीमतीलाई वडा सदस्यको शपथग्रहण गराएको मलाहले बताइन्।

आफ्नो स्थानमा अन्य व्यक्तिलाई किर्ते गरी वडा सदस्यको शपथग्रहण गराई वडा कार्यालयबाट पाउने सेवा–सुविधासमेत गायत्री देवीले लिएकाले यस कार्यमा संलग्न रहेको उनका श्रीमान् जादोलाल सहनीहित वडा नम्बर १७ की वडाध्यक्ष सुखरानी देवी, उनका श्रीमान् वीरेन्द्रप्रसाद यादवविरुद्ध अदालतमा मुद्दासमेत दिएको उनले जानकारी दिइन्।

०७४ सालको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएको कुरा कसैले पनि आफूलाई जानकारी नगराएको मलाहले बताइन्। ‘मैले थाहा पाएको भए अनि म बताउँथे, मलाई त जनाकारी नै भएन भित्रैबाट मिलेमतो गरियो,’ उनले भनिन्, ‘मेरो नाममा मेरो चिज उठाएर खाएका छन् कसैले पनि हेरेनन्, रम्भा देवी भएको कुरा।’

आफू ०७४ सालको स्थानीय तहको निर्वाचनमा साविकको संघीय समाजवादी पार्टी फोरम नेपाल हालको जनता समाजवादी पार्टी नेपालबाट ८६६ मत ल्याई वडा सदस्यमा निर्वाचित भएको उनले दाबी गरिन्। निर्वाचन आयोगको वेबसाइटमा समेत वीरगञ्ज महानगरपालिका–१७ को वडा सदस्यमा मलाहले ८६६ मत ल्याइ निर्वाचित भएको उल्लेख छ। वडा नम्बर १७ को वडाध्यक्षमा पनि सोही पार्टीबाट सुखरानी देवी विजयी भएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *