नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् ।
शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए ।
उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो भत्ताको सुरू गर्ने मान्छे । मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।’०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए । ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’
उनले जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभएपनि केही काम भने भएको बताए । लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि उनले आग्रह गरे ।
‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु ।’ अध्यक्ष नेपालले मानिस जाँडको मातले जस्तै पदको मातले पनि लाग्ने भन्दै सरकारलाई खबरदारी गरिरहन आग्रह गरे ।