म्याग्दी । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिनुभयो । मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।
मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ । मोटरमार्ग कालोपत्र भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन् । कालोपत्र भएको मोटरमार्गको शनिबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकामा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।
सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सबै वडामा विकास निर्माणका काम भएको बताउँदै स्थानीय तहमा निर्वाचित भएको पाँच वर्षको अवधिमा देखिने काम गरेको बताउनुभयो ।
चेम्बर अफ कमर्सको अध्यक्षमा अधिकारी
तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा खेमराज अधिकारी चयन हुनुभएको छ । बन्दीपुर गाउँपालिका–५ स्थित मस्र्याङ्दी रिसोर्टमा शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अधिकारीका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट कमर्सको वरिष्ठ उपाध्यक्षमा कविराज श्रेष्ठ, उपाध्यक्षमा पूर्ण श्रेष्ठ र मनोज अधिकारी, महासचिवमा विष्णु पराजुली, सचिवमा किशोर खनाल, सहसचिवमा नगेन्द्र पौडेल, कोषाध्यक्षमा विन्दुलाल श्रेष्ठ र सहकोषाध्यक्षमा दानबहादुर घर्ती चयन हुनुभएको छ ।