• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पाँच सय र हजारका नोट खारेज हुने चर्चापछि लुकाइएको पैसा बैंकमा आउन थाल्यो

Bydeep

Mar 20, 2022

काठमाडौं । घुसखोरी र अबैध कारोबारमा पाँच सय र हजारका नोट बढी प्रयोग हुने र कारोबारीहरुले यस्तो रकम घर घरमा लुकाएर राख्ने गरेको देखिएसँगै नोटबन्दी गर्नुपर्ने विषय बहस चर्किएपछि अर्बौं रुपियाँ रकम बैंकिङ प्रणालीमा आएको छ । वित्तीय क्षेत्रले तरलताको चर्को संकट सामना गरिरहेको बेला पछिल्लो समय झण्डै २२ अर्ब रुपियाँ रकम बैंकहरुमा आएको हो । योमध्ये अधिकांश रकम पछिल्लो महिना बैंकमा आएको हो । गएको एक महिनायता नोटबन्दी गर्ने विषय निकै बहसमा छ ।

कर्पोरेट नेपालले समाचार लेखेसँगै यस विषयमा नेतादेखि व्यवसायी, अर्थविद् र आम मानिसहरुले समेत यस विषयमा पक्ष विपक्षमा बहस गरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा धेरैको मत नोटबन्दीको पक्षमा देखिन्छ भने कतिपय विज्ञले भने यसबाट सर्वसाधारण मानिसले सास्ती पाउने र नेपाली मुद्रा कमजोर हुने भएकाले नोटबन्दी गर्न नहुने तर्क गरेको देखिन्छ । नोटबन्दीबाट सकारात्मक नजिता आउने विश्लेषण गर्नेहरुले सिरानी तथा ओच्छ्यानमुनी लुकाएर राखिएको रकम ठूलो नेता, न्यायाधीश, प्रशासक, जग्गा दलाल, हुण्डी कारोबारी, अबैध व्यापारीहरुसँग रहेकोले उनीहरुले आफ्नो विरुद्ध आफै निर्णय नगर्ने तर्क गर्छन् ।

यद्यपि नोटबन्दीको विषयमा व्यापक बहस हुन थालेपछि मानिसहरुले घरमा राखेको पैसा बैंकमा राख्न थालेको विवरणबाट पनि प्रष्ट हुन्छ । नेपाल बैंकर्स एशोसियशनको तथ्यांकअनुसार फागुन महिनामा कूल निक्षेप २२ अर्बले बढेको भने कूल कर्जा लगानी १७ अर्बले बढेको छ ।

फागुन कै २९ र ३० गते दुई दिनमा निक्षेप सात अर्बले बढेको हो । माघ मसान्तसम्म जम्मा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुनमा बढेर ४३ खर्ब ३३ अर्ब पुगेको छ । तरलता संकुचन कम गर्न राष्ट्र बैंकले यसअघि विभिन्न उपकरण प्रयोग गर्दा पनि सुधार आउन नसकेकोमा पछिल्लो समय भएको सुधार नोटबन्दीको हल्लाले भएको धेरैको विश्लेषण छ ।

तर राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने निक्षेप संकलनमा विभिन्न कारणले सुधार आएको हुनसक्ने भन्दै नोटबन्दीको कुराले नै हो भन्ने भन्ने केही समय कुर्नुपर्ने बताए । उनले आयातमा कम गर्न भएका प्रयास, पुँजीगत खर्चमा भएको वृद्धि, रेमिटान्स आयमा आएको सुधार जस्ता कारणले पनि निक्षेप बढेको हुनसक्ने बताउँदै यसमा नोटबन्दीको चर्चाले मात्रै हो भनेर आफूले अहिले नै भन्न नसक्ने बताए ।

बैंक वित्तीय संस्थामा तरलताको समस्या देखिएपछि बैंकहरुले ब्याजदरमा बढाउँदै लगेका छन् । ब्याजदर बढेपछि व्यवसायीले त्यसको विरोध जनाउँदै नियन्त्रणका लागि अर्थमन्त्रालयदेखि राष््रट्र बैंकसम्मलाई आग्रह गर्दै आएका छन् ।

डिजिटल कारोबारमा वृद्धि हुँदै गएपछि मानिसहरुले घरमा भन्दा पनि बैंकमा नै पैसा राख्ने र चेक तथा डिजिटल प्रविधिबाट कारोबार गर्ने संस्कृति बढ्दै गएको छ । तर बजारमा ६५० अर्ब रुपियाँको नोट चलनचल्तीमा रहेकोमा ५३३ अर्ब मानिसहरुको हातमा र बाँकी बैंक वित्तीय संस्थामा रहेबाट अर्बौं रुपियाँ नोटहरु घर घरमा लुकाएर राख्ने, सिस्टमभन्दा बाहिरबाट कारोबार गर्ने, कर छल्ने काम हुँदै आएको देखिएको छ । यसरी लुकाइएको रकम बैंकमा राख्दा स्रोत खुलाउनुपर्ने र कर तिर्नुपर्ने भएकाले नगदमै कारोबार हुने गर्दछ । यसरी लुकाइएको रकममध्येबाट अहिले थोरै मात्रै बैंकमा आएको देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *