प्रहरी प्रधान कार्यालयले खुलाएको दरखास्त अनुसार म्यादी प्रहरीमा भर्ती हुनेका लागि युवाहरुको आकर्षण देखिएको छ । चैत १ गते प्रकाशित सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ ।
दरखास्तका लागि युवायुवतीदेखि दुधे बच्चा बोकेर समेत महानगरीय प्रहरी परिसर टेकुमा भीड देखिएको छ । चर्को घाममा उनीहरु दरखास्त बुझाउने लाइनमा देखिन्थे । सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १ लाख जना जनशक्ति माग गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।
यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ ।
-रातोपाटीबाट