• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसको आक्रमणपछि युक्रेनबाट झन्डै एक करोड मानिस घर छाडेर भागे

ByDeayam

Mar 20, 2022

रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताउनुभएको हो ।

यो सङ्ख्या युक्रेनको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हो । घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले जनाएको छ । बाँकी देशभित्रै विस्थापित भएका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा बालबालिका रहेका छन् । युक्रेनले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई भने देश छाडेर भाग्ने अनुमति दिएको छैन ।

यसैबीच रुसले कब्जा गरेको युक्रेनी सहरहरू खेअर्सन, काखोभका र बर्दियान्स्कका बासिन्दाले आज विरोध प्रदर्शन गरेका छन् । युक्रेनको झन्डासहित हामी युक्रेनी हौँ भन्दै प्रदर्शन गर्ने नागरिकमाथि रुसी सेनाले अवरोध नगरेको बीबीसीले जनाएको छ । जुलुसहरू शान्तिपूर्ण देखिएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा प्रतिबन्ध लगाउनुभएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले अपोजिशन प्लाटफर्म–फर लाइफ सहितका रुस समर्थित ११ दलका गतिविधिमा प्रतिबन्धको घोषणा गर्नुभएको हो । अपोजिशन प्लाटफर्म–फर लाइफले युक्रेनी संसदमा पनि प्रतिनिधित्व गरेको छ । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताउनुभएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *