• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले युक्रेनमा जस्तै चीनले ताइवानमा आक्रमण गर्दैछ ? अमेरिकालाई ‘गल्ती नगर्न’ चेतावनी दियो

Bydeep

Mar 20, 2022

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण गरेसँगै केही विश्लेषकहरुले चीनले पनि यसैगरी ताइवानमाथि आक्रमण गर्न सक्ने आशंका गरेका थिए । विश्लेषकहरुले चीनले रुसको युक्रेनमाथिको युद्ध नजिकबाट नियालिरहेको र यसको परिणामका आधारमा ताइवानमाथिको कारवाहीबारे निर्णय गर्न सक्ने आशंका गरेका थिए । गएराती अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तामा चिनियाँ राष्ट्रपतिले अचानक ताइवानको कुरा निकालेपछि पुनः यो विषय चर्चामा आएको छ ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बीच अमेरिका अलग अलग देशहरुबाट रुसविरुद्ध समर्थन जुटाउने प्रयासमा छ । संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मतदान नगरेका देशहरुलाई मनाउन अमेरिका प्रयासरत छ । यही प्रयास अन्तर्गत गएराती अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग कुरा गरेका थिए । यो कुराकानीमा चिनियाँ राष्ट्रपति शी जिनपिङले अचानक ताइवानको प्रसंग जोडिदिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ मिडियाको हवाला दिँदै बताएअनुसार शुक्रबार राती जिनपिङ र बाइडेनबीच भएको कुराकानीमा जिनपिङले बाइडेनसँग भने ‘ताइवानको मुद्दामा कुनै पनि गल्तीको नकारात्मक असर चीन अमेरिकाको सम्बन्धमा पर्न सक्छ ।’ चीनले ताइवानलाई आफ्नै एक क्षेत्र मान्छ । तर, ताइवानले भने आफूलाई स्वतन्त्र देश भन्छ । अमेरिकाले ताइवानलाई औपचारिक रुपमा स्वतन्त्र देशको मान्यता दिएको छैन तर ताइवानको दावीप्रति अमेरिकाको अनौपचारिक समर्थन भने छ ।

चीनले ताइवानलाई आफ्नो एक यस्तो प्रान्त मान्छ जुन प्रान्त भोलिका दिनमा चीनमै मिसिन सक्छ । चीनले यसअघि नै ताइवानलाई बलपूर्वक फिर्ता लिन सक्ने बताइसकेको छ । चीनले यो विषय अमेरिकासँग आफ्नो सम्बन्धको सबैभन्दा संवेदनशील र अहम मुद्दा भएको बताएको छ । बाइडेनसँगको कुराकानीमा जिनपिङले भने ‘अमेरिकाका केही मानिसहरुले ताइवानका स्वतन्त्रता समर्थक शक्तिहरुलाई गलत सन्देश पठाइरहेका छन् जुन धेरै खतरनाक कुरा हो । यदि ताइवान मुद्दालाई ठिक तरिकाले सम्हाल्न सकिएन भने यसले दुई देशको सम्बन्धमा निकै खराब प्रभाव पर्नेछ ।’

ह्वाइट हाउसले पनि यो कुराकानीको विषयमा एक वक्तव्य जारी गरेर जानकारी दिएको छ । ह्वाइट हाउसको वक्तव्यका अनुसार जिनपिङसँगको कुराकानीमा बाइडेनले ताइवानको विषयमा अमेरिकाको नीति नबदलिएको दोहोर्याएका छन् । साथमा बाइडेनले अमेरिकाले ‘यथास्थितिमा एकतफी परिवर्तनको विरोध गर्न जारी राख्ने’ बताएका छन् । यही बीच ताइवानको विदेश मन्त्रालयले बाइडेनलाई आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *