• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सिरानमुनि पैसा लुकाएर राख्दा तरलता समस्या: अर्थमन्त्री जनार्दन शर्मा

Bydeep

Mar 20, 2022

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको पनि उनले बताए। शुक्रबार दिउँसो नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताएका हुन्।

‘पुँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु,’ उनले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ।’ उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरूपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए।

उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरूको दुरूपयोग गरेर क्यापिटल फ्लाई हुने प्रक्रिया देखापरेको छ। त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्।’ पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए।

‘बैंक ब्याजदर व्यवसायी अनुकूल हुनुपर्छ भनेर मैले भन्दै आएको छु। उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकसँग सल्लाह दिएको छु,’ उनले भने। बैंकिङ प्रणालीमा विस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने उनको भनाइ छ। उनले अहिलेको शोधनान्तर घाटा अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए।

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य वस्तु, खानेतेल, प्लास्टिक लगायतको मूल्य बढेको छ। त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको छ। अर्कातिर डलरको विनिमयदर पनि बढेको छ,’ उनले भने, ‘यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधनान्तर स्थिति हामीले सोचेभन्दा केही फरक पर्न गएको हो।’

उनले पछिल्लो समय शोधनान्तर स्थिति सुधार हुन थालेको भन्दै चाँडै अर्थतन्त्र लयमा आउने दाबी गरे। रेमिटेन्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिटेन्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको पनि उनले जानकारी दिए। नागरिक लगानी कोषलाई धेरेभन्दा धेरै पुँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न उनले निर्देशन दिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *