काठमाडौं – नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति अस्थिर नेता सायदै कम होलान् । उनी कहिल्यै पनि स्थिर देखिएका छैनन् । कांग्रेससँग सरकार चलाइरहेका बेला उनले ०७४ सालमा एमालेसँग सहकार्य गरेर चुनाव जिते । पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण नै गराए । तर, त्यो तीन वर्ष पनि टिकेन ।
त्यसपछि फेरि उनी नेपाली कांग्रेसकै शरणमा आइपुगे । अबदेखि गल्ती गर्दिन भनेर बाचा कसम पनि खाए । अहिले पनि कांग्रेस र माओवादी केन्द्र सरकारमा छन् । पाँचदलीय गठबन्धन बनेको छ । तर, कांग्रेसले चुनावमा गठबन्धन नगरेको भन्दै अहिले फेरि उनी एमालेको शरणमा पुगेका छन् । उनले स्थानीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेर जान जिल्ला जिल्लामा आफ्ना नेताहरूलाई निर्देशन दिएको समाचार बाहिरिएको छ ।
माओवादी केन्द्रका नेता चक्रपाणि खनालले अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर चुनाव लड्न सर्कुलर नै जारी गरिसकेको जानकारी दिएका छन् । प्रचण्डको यो हर्कतले नेपाली कांग्रेसलाई भने गठबन्धन नगर्न बाटो खुला भएको छ । यसै पनि नेपाली कांग्रेसमा चुनावमा गठबन्धन नगर्न दबाब पर्र्दै आएको छ । कम्युनिस्ट पार्टीहरू विभाजित भएका बेला कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत बलियो छ ।
तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने कम्युनिस्टको भर हुन्न, फेरि पनि उनीहरू मिल्न सक्छन् भन्दै केही केही ठाउँमा गठबन्धन गरेर जानुपर्ने मनस्थितिमा देखिएका छन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण देउवा आफ्नो मनस्थिति परिवर्तन गर्न बाध्य हुनेमा कांग्रेस नेता कार्यकर्ता विश्वस्त छन् । यतिबेला आफ्ना धेरै नेता कार्यकर्ताले पार्टी छाडेको भन्दै प्रचण्ड एमालेसँग मिल्न बाध्य हुने विश्लेषण गर्न थालिएको छ ।