काठमाडौ । युक्रेनमा रुसको आक्रमण जारी छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ठूलो दाबी गरेका छन् । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन् । तर यदि वार्ता असफल भयो भने, यसको मतलब तेस्रो विश्व युद्ध तय हुनेछ भन्दै प्रष्ट पारेको छन् । उनको यो हुँकारले विश्वभरी तरंग पैदा भएको छ । युक्रेनका राष्ट्रपतिको यो भनाइ यस्तो बेला आएको हो जब रुसले लगातार आक्रमण गरिरहेको छ । यसअघि जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई युद्ध रोक्न प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए ।
यसअघि रुसले मारियुपोल सहरको एक विद्यालय भवनमा शक्तिशाली बम प्रहार गरेको थियो । युक्रेनले यस विद्यालयमा ४०० युद्ध पीडितले शरण लिएको दावी गरेको छ । रुसी मिसाइलहरूले भवनमा प्रहार गरेपछि भवन भत्कियो । यस हमलामा भवनमा उपस्थित ४०० व्यक्ति पुरिएको आशंका गरिएको छ ।
मारियुपोल आजोभ सागर नजिकै युक्रेनको बन्दरगाह सहर हो। चारैतिरबाट रुसी सेनाले घेरेको छ । यो सहरलाई रुसले युक्रेनको बाँकी भागबाट काटेको छ । यहाँ केही मानिसहरू बंकरमा लुकेका छन्, जसले भारी बमबारीको सामना गरिरहेको छ।
रुसी सेनाले मारियुपोलदेखि कीभ, खार्किभ र डोनेट्स्कदेखि लुहान्स्कसम्म बमबारी गरिरहेको छ । युक्रेनका स्थानीय सञ्चारमाध्यम र प्रशासनिक अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा पनि त्यहाँका जनताको अवस्था दयनीय देखिन्छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रुसले मारियुपोलमा युद्ध अपराध गरिरहेको छ । त्यहाँका जनतामाथि अन्याय भइरहेको छ । जेलेन्स्कीले रुसको यो अत्याचारलाई विश्वले सधैं सम्झिरहने बताए । यही देखेरपनि अब विश्वले युक्रेनलाई साथ दिने उनको दावा छ । उनले भने अब विश्व युद्ध हुनेछ । रुसले घमण्ड नत्यागे खरानी हुनेछ ।