• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

ByDeayam

Mar 21, 2022

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

कैलालीको धनगढीमा आज सोमवारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई तीन–शून्यको सोझो सेटले हरायो । आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो । यस्तै अर्काे खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको थियो । मुख्यमन्त्री भट्टले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । उहाँका अनुसार प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिने सिंहले बताउनुभया । प्रत्येक खेलका म्यान अफ द म्याचलाई एक हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । सदस्य सचिव सिंहले प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको दाबी गर्नुभएको छ ।

प्रतियोगितामा भोलि मङ्गलवार चार वटा खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *