• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

म्यादी प्रहरीका लागि रुपन्देहीमा ३३५१ जनाले दिए आवेदन

ByDeayam

Mar 21, 2022

भैरहवा। स्थानीय तहको निर्वाचनका लागि रुपन्देही सहित देशव्यापी रूपमा भर्ना प्रक्रिया सुरु भएको छ । आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा पहिलो दिन रुपन्देहीमा १४ सय ६५ जनाले र दोस्रो दिन १८ सय ८७ जनाले दर्ता गरेका छन् । चैत ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन आह्वान गरिएको छ ।

बढेको गर्मीलाई प्रवाह नगरी रुपन्देही मात्र होइन छिमेकी जिल्लाबाट पनि युवाहरू आएर बिहानैदेखि दर्ताका लागि तछाड मछाड गर्दैछन् । जागिरको लालसामा कार्यालयमा बिहानैदेखि आवेदन दिन लाम लागेका युवाहरूको जमात छ । भिडले देशमा बेरोजगारीको अवस्था कस्तो छ भनी प्रस्ट पारेको छ । केही दिन भए पनि जागिर पाइने आसमा युवती र महिलासमेत घण्टौं लाइनमा बस्ने गरेका छन् ।

रुपन्देहीमा २ सय ८ मतदान स्थल तोकिएको छ, आगामी निर्वाचनका लागि ९४ वटा मतदान केन्द्र थपिएसँगै ७ सय ४ वटा मतदान केन्द्र निर्धारण भएको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाका लागि ती म्यादी प्रहरी खटाइने भएको हो ।

४० दिन काम गर्न पाउने गरी नेपाल प्रहरी जवान सरहको सेवासुविधा पाइने गरी भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । कार्यालयबाट ९–१० वटा काउन्टरमा आवेदनको काम भइरहेको छ, कागजपत्र रुजुका लागि डेस्क खडा गरिएको छ । प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँच गरी दर्ता गर्ने गरेको प्रहरी उपरीक्षक रेग्मीले भने ।

जिल्लाको सुरक्षा चुनौती, निर्वाचन क्षेत्र, मतदान स्थल, मतदान केन्द्रलगायतका स्थिति र अघिल्लो निर्वाचन सुरक्षा रणनीतिलाई आधार बनाएर म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ । जिल्लामा २ हजार ३ सय ६० जना म्यादी प्रहरी भर्ना लिइने छ ।

म्यादी प्रहरीले पारिश्रमिक मध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनबापत सात हजार २ सय , पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ । छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *