• Mon. Feb 19th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यसरी बनाइन्छ सगरमाथामा बाटो  

ByDeayam

Mar 21, 2022

वसन्त ऋतुको आरोहणका लागि सगरमाथामा बाटो बनाउने काम सुरु भएको छ । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउनका लागि आइसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) खटिएका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

बाटो खुलाउनका लागि आठ जना अनुभवी आइसफल डाक्टरहरू खटिएका र उनीहरूले हिजो आइतवारदेखि काम सुरु गरेका शेर्पाले बताउनुभयो ।

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्दै आएको छ । दोस्राे शिविरभन्दा माथि आरोहण व्यवसायीहरूकै संयोजनमा बाटो बनाइन्छ । हिमनदी र हिउँ खाल्डा तथा खर्पसहरू धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहन्छ । एक वर्ष बाटो खुलाएको ठाउँमा अर्को वर्ष ठूलो खाल्डो तथा डाँडा बनिसक्ने भएकोले सम्भावित बाटो खोज्ने नयाँ बाटो बनाउनुपर्ने शेर्पाले बताउनुभयो । बाटो बनाउनका लागि भर्‍याङ, डोरीलगायतका सामग्री प्रयोग गरिन्छ ।

यसरी बनाइन्छ सगरमाथामा बाटो  

सगरमाथाको दोस्राे शिविरसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बनाउँछ । पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथामा बाटो बनाउने काम गर्दै आएको छ । दोस्राे शिविरभन्दा माथि आरोहण व्यवसायीहरूकै संयोजनमा बाटो बनाउँछन् ।

हिमाल आरोहणको सिजन सुरु हुनुभन्दा झन्डै एक महिनाअघि एसपीसीसीले आइसफल डाक्टर (हिउँमा बाटो बनाउने दक्ष कामदार) खटाउँछ । बाटो बनाउन सुरु गर्नुअघि टोलीले सगरमाथाको आधार शिविरमा पूजा गरेर बाटो बनाउन सुरु गर्छन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले सगरमाथा र अरू हिमाललाई देवता मान्छन् । त्यसैले काममा कुनै समस्या नआओस् भनेर उनीहरूले पूजापाठ गर्छन् । बाटो बनाउनुअघि तथा हरेक समूहले आरोहण सुरु गर्नुअघि बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने चलन छ । पूजापाठ गर्दा हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने आरोही मिङ्मार शेर्पा बताउनुहुन्छ ।unn.prixa.net

आधार शिविरको उपयुक्त ठाउँमा शिविर स्थापना गरेपछि काम सुरु हुन्छ । हिउँ परिरहने, हिमपहिरो झर्ने लगायतका समस्याहरूको कारण आधार शिविरमा बास बस्ने ठाउँ पहिचान गर्दा निकै ध्यान दिनुपर्ने आरोहीहरू बताउँछन् । बाटो कहाँबाट कसरी तयार गर्ने भन्नेबारे सल्लाह गरेर बाटो बनाउने काम सुरु हुन्छ । आवश्यक ठाउँमा डोरी र भर्‍याङकाे प्रयोग गरेर बाटो बनाइन्छ ।

बाटो बनाउने टोली तीन महिनासम्म आधार शिविरमै बसेर आवश्यकताअनुसार बाटो मर्मतसमेत गर्छन् । दोस्रो शिविरसम्म पुग्ने बाटोमा हिमनदी, खर्पस तथा हिमखाडलहरू धेरै हुने भएकाले हरेक वर्ष बाटो खोज्नुपर्छ भने एउटै सिजनमा पनि मर्मत गरिरहनुपर्ने हुन्छ । एउटा सिजनको आरोहण सकिएपछि आइसफल डाक्टरहरूले डोरी, भर्‍याङलगायतका सामग्री निकाल्छन् ।

हिमालमा बाटो बनाउँदा प्रयोग हुने सामाग्रीहरू

हिमालको यात्रा निकै जोखिमपूर्ण हुन्छ । सानो गल्तीले पनि ज्यानै जान सक्छ भने बाटोमा विभिन्न समस्या पनि आइरहन्छन् । कतै सजिलै पार गर्ने बाटो भेटिने र कतै भर्‍याङ, डोरी तथा पुलहरूको प्रयोग गरेर मात्रै अप्ठ्यारा ठाउँ पार गर्नुपर्ने आरोहीहरू बताउँछन् । हिमालमा बाटो बनाउँदा प्रयोग हुने मुख्य सामग्रीहरु यसप्रकार रहेका छन्–

१. डोरी

आइसफल डाक्टर कामी शेर्पाका अनुसार हिमालमा बाटो बनाउँदा चाहिने सबैभन्दा महत्त्वपूर्ण सामग्री डोरी हो । प्रायः विदेशबाटै ल्याइने उच्च गुणस्तरको डोरी प्रयोग गरेर हिमालमा बाटो बनाइने सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
आवश्यक ठाउँमा डोरी टाँगेपछि आरोहीहरू त्यही डोरी समातेर अघि बढ्छन् । अहिलेसम्मको तथ्याङ्कअनुसार आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो बनाउँदा पाँच हजार पाँच सय मिटर डोरीको प्रयोग भएको छ ।

२. भर्‍याङ

प्रायः उकालोमा डोरी टाँगिन्छ भने तेर्सो ठाउँमा भर्‍याङकाे प्रयोग हुन्छ । कतिपय उकालो ठाउँमा, अप्ठ्यारा ठाउँमा पनि भर्‍याङ राखिन्छ । खर्पस तथा हिउँका खाडल तथा टुटेको बाटो पार गर्न भर्‍याङ प्रयोग हुन्छ । पहिलो पटक सगरमाथा आरोहण गर्दा सल्लोका रुखको भर्‍याङ प्रयोग भएको पहिलो आरोही समूहका सदस्य कान्छा शेपा बताउनुहुन्छ । अहिले भने धातुबाट बनाइएका हल्का र बलिया भर्‍याङकाे प्रयोग हुने आइसफल डाक्टरहरू बताउँछन् । भर्‍याङसँगै आवश्यकताअनुसार डोरी पनि टाँगिन्छ । हिमालमा हरेक वर्ष पहिरो जाने तथा हिउँ भासिने क्रम चलिरहने हुँदा आवश्यकताअनुसार भर्‍याङकाे प्रयोग हुन्छ ।

दोस्रो शिविरसम्मको बाटो बनाउँदा सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको एसपीसीसीका महासचिव लामाकाजी शेर्पाले जानकारी दिनुभयो । बाटो कति भत्किएको छ भन्ने अवस्थाअनुसार भर्‍याङकाे सङ्ख्या तल–माथि हुन्छ । भर्‍याङ राख्दा धेरै जोखिम हुने आइसफल डाक्टरहरू बताउँछन् ।

३. आइस स्क्रु र किला

हिमालमा बाटो बनाउँदा अति आवश्यक हुने सामाग्री आइस स्क्रु र हिउँ बाँध्ने किला हुन् । आइस स्क्रु हिउँमा गाड्ने एक प्रकारको सानो आकारको कोदालो हो । यसको सहारामा हिउँमा डोरी टाँगिन्छ । हिउँ बाँध्ने किला डोरी अड्काउन चाहिन्छ ।

४. कपडा

हिमालको मौसम छिनभरमै परिवर्तन हुन्छ । राम्रो मौसम भएको मिनेटभरमै प्रतिकूल बन्न सक्ने आरोहीहरू बताउँछन् । हिमपात तथा तीव्र हावा चलिरहन्छ । प्रतिकूल मौसम हुँदाहुँदै पनि काम गर्नुपर्ने भएकाले त्यहीअनुसारको कपडा चाहिने आइसफल डाक्टर कामी शेर्पा बताउनुहुन्छ । हिउँमा बाटो बनाउनेहरूका लागि हावा नछिर्ने खालका कपडा, बूट, हेल्मेट, चस्मा, पञ्जा चाहिन्छ ।

अत्यन्तै जोखिमपूर्ण काम

हिमालमा बाटो बनाउने काम अत्यन्तै जोखिमपूर्ण हुने आइसफल डाक्टर तथा आरोहीहरू बताउँछन् । पहिरो खस्ने र हिउँ भासिने जस्ता समस्याहरू आइरहने भएकाले बाटो बनाउँदा सबैभन्दा जोखिम खुम्बु आइसफलमा हुने आरोहीहरू बताउँछन् । हिमालमा हिउँका खाल्डाहरू हुने भएकाले विशेषगरी भर्‍याङ थाप्ने क्रममा निकै अप्ठ्यारो हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *