• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

लेटाङमा अस्ताइन प्रहरी जवान श्रेष्ठ

ByDeayam

Mar 21, 2022

कोसी अस्पताल परिसर अरू दिनझैँ सुनसान थिएन। पुरै शोकमा थियो। त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए।

प्रहरीको एक टुकडीले शोक धुन बनाइरहेको थियो। त्यही बेला सबैको मन भक्कानियो। कर्तव्यपालनका क्रममा एक राष्ट्रसेवक प्रहरी जवानको शवलाई अन्तिम बिदाइ चल्दै थियो।

सबै सहकर्मीमा निराशामा मात्र थियो। जसको सुरक्षार्थ खटिएका थिए, उनीहरूकै हातबाट मारिन पुगिन्। अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिरहँदा सहकर्मीहरू मलिन अनुहारमा थिए। जहाँ सन्नाटा छाएको थियो।

घरपरिवार आफ्नो मान्छे गुमाउँदाको पीडाले छटपटाइरहेका थिए। भावविहोल थिए। त्यहीबीच मोरङको लेटाङमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्पगुञ्छा अर्पण गरे।

प्रमुख जिल्ला अधिकारी दाहालसँगै प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी तथा उर्मिलाका सहकर्मीहरूले पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरे र भौतिक शरीरसँग अन्तिम बिदाइ गरे।

श्रद्धाञ्जलीपछि उर्मिलाको शव उदयपुरको त्रियुगामा रहेको परिवारले लिएर गएको छ। उनको अन्त्येष्टि उदयपुरमै गरिनेछ।

लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा स्थानीयसँगको झडपमा प्रहरी जवान उर्मिलाको निधन भएको थियो । एक शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपकै क्रममा उनको घाँटीमा चक्कु प्रहार गरिएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उर्मिलाको कोसी अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो ।

१३ वर्षीया छात्रालाई यौन हिंसा गरेको भन्दै प्रहरी उनलाई पक्राउ गर्न लेटाङ पुगेको थियो । तर, स्थानीयले दोषीलाई बचाउने खेलमा लागेको भन्दै जनकारबाही गर्नुपर्ने भन्दै उनलाई त्यहाँबाट लैजान दिएका थिएनन् । राति प्रहरीले जबरजस्ती लैजान खोज्दा झडप भएको थियो ।

थोरैको संख्यामा रहेका प्रहरीलाई स्थानीय प्रदर्शनकारीले घरेलु हतियार तथा लाठी प्रहार गरेर भगाएका थिए । त्यही क्रममा प्रहरी जवान उर्मिलामाथि चक्कु प्रहार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *