• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

श्रीमानलाई एयरपोर्टबाट लिएर गएकी मायादेवी पुग्न सकिनन् घर

Bydeep

Mar 21, 2022

बुटवल । विदेश गएको तीन वर्षपछि आफ्नो श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । मलाई लिन एयरपोर्टसम्म आउनु । त्यसपछि सँगै घर जाउँला’ भन्दा कसको श्रीमतिलाई खुशी नलाग्ला ? रुपन्देहीको सूर्यपूरा टोलकी मायादेवी पाण्डेलाई पनि विदेशबाट श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । एयरपोर्टसम्म लिन आउनु’ भनेपछि निकै हर्षित भइन् ।

त्यसपछि मायादेवीले ‘बाबु–नानीहरु, तिमीहरुको बाबा विदेशबाट आउँदै हुनुहुन्छ । म उहाँलाई लिन एयरपोर्टसम्म लिन जान्छु’ भनेपछि छोरा–छोरीको पनि खुशीको सीमा रहेन । नभन्दै गत फागुन ३० गते बाबालाई लिन आमा काठमाडौं हिँडिन् ।

यता, घरमा कतिखेर बाबा–आमा आइपुग्नुहुन्छ भनेर छोरा–छोरीले कुरिरहे । काठमाडौंबाट फोन गरेर आमाले ‘हामी हिड्यौं बाबु नानीहरु’ भनेपछि छोरा–छोरी थप हर्षित भए । तर, उनीहरुको त्यो खुशी धेरैबेर टिकेन । उनीहरुको त्यो खुशी क्षणभरमै रोदन र चित्कारमा परिणत भयो ।

पाण्डेको परिवारसहित सिंङ्गोे सूर्यपूरा गाउँमा सन्नाटा छायो । विदेशबाट आएका श्रीमान र एयरपोर्टसम्म लिन गएकी श्रीमति ‘नाइट (रात्रि) बसमा आउँदैछन्’ भन्ने कुरा थाहा पाएका आफन्तजनले उज्यालो नहुँदै दुःखद् खबर सुन्नुप¥यो, कि ‘बस दुर्घटनामा श्रीमान पाण्डेकै काखमा श्रीमति मायादेवीको मृत्यु भयो ।’

यो हृदयविदारक घटना यहि चैत २ गते विहानको हो । काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेको लु२ख ४३१९ नम्बरको नाइटबस चढेर कतारबाट आएका रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपूरा टोलका ४२ वर्षीय मणिराम पाण्डे र एयरपोर्टसम्म लिन गएकी ३८ वर्षीया श्रीमति मायादेवी पाण्डे घर आउँदै थिए ।

उनीहरु आफ्नो घर आइपुग्न करिब २ घण्टा बाँकी रहँदा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको प्रगति नगर र लोकाह खोलाको बीच सडकमा बुटवलतर्फबाट आउँदै गरेको ना६ख १७२१ नम्बरको ट्रकसँग उनीहरु सवार बस विहान करिब साढे पाँच बजे एक आपसमा ठोक्किएर दुर्घटना हुन पुग्यो ।

श्रीमानसहित उक्त बसमा सवार सबै यात्रुुहरु सकुशल थिए तर, श्रीमति मायादेवीको भने श्रीमान कै काखमा मृत्यु भयो । श्रीमान पाण्डे भन्छन्, ‘ड्राइभरको पछाडिको सिटमा हामी बुढा–बुढी बसिरहेका थियौं । एक्कासि ट्रक बसमा ठोक्किन पुग्यो । हाम्रो अगाडि बसेका ड्राइभरलाई केही भएन ।’

उनले थपे, ‘मलाई पनि सामान्य धक्का मात्रै लाग्यो । मेरो श्रीमतिलाई ताकेरै हाने जस्तो भयो । उनी मेरा काखमा ढलिन् । म आफै उनलाई बोकेर भरतपुरको सीएसी अस्पतालमा लगेको हुँ । त्यहाँ लगेपछि डाक्टरले मृत घोषणा गरे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *