८ चैत, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे । मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।
अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् । सोही कार्यक्रमबाट पर्साका नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएका नेता हुन् ।
यो पनि :कोइराला-चुनावका बेला एमाले र माओवादी एक हुन सक्छन्
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले चुनावका बेला एक हुनसक्ने बताएका छन् । कोइराला निवास विराटनगरमा मंगलवार चुनावी गीत सार्वजनिक गर्दै नेता कोइरालाले २०७४ सालको निर्वाचनमा पनि सरकारमा भएकै बेला कांग्रेसलाई थाहा नै नदिई एमालेसँग मिलेकाले माओवादीको भर नभएको बताए ।
स्थानीय तह चुनावमा गठबन्धन गर्न नहुने उनले बताए । अरु पार्टीका नेताहरूलाई जिताउन गठबन्धन गर्नु आवश्यक नरहेको उनले बताए ।‘प्रचण्डलाई हराउन भनेर हतारहतारमा अरु नेतालाई साथ दिँदा धेरै कार्यकर्तामा विचलन आएको छ । अघिल्लो चुनावमा प्रचण्डजीलाई हराउन भनेर राप्रपाका विक्रम पाण्डेलाई हामीले सहयोग गर्यौं,’ उनले भने, ‘तर हामीले भनेको कार्यकर्ताले मानेनन्, आधाभन्दा धेरै भोट त उहाँलाई नै गयो, हामीले उठाएका उम्मेदवारलाई गएन ।’
कांग्रेस कार्यकर्ता सक्षम भएकाले आफ्नो निर्णय आफैं गर्ने अधिकार दिनुपर्ने उनले बताए । धेरै जिल्लाका नेता कार्यकर्ताले ‘गठबन्धन नगरौं’ भनेकाले स्थानीय तह चुनावमा गठबन्धन गर्न नहुने उनको तर्क छ । संघ र प्रदेशको चुनाव पछि हुने भएकाले त्यतिबेला गठबन्धनका विषयमा थप छलफल गर्नुपर्ने उनले बताए ।गठबन्धनमै रहेका ठूला दलका नेतालाई जिताउने जिम्मा कांग्रेसको भएको समेत उनले बताए ।
२०७४ सालको चुनावको स्मरण गर्दै नेता कोइरालाले अशोक राई, कमल थापा, विक्रम पाण्डेलाई आफ्नो निर्वाचन क्षेत्र छाड्दा घाटा भएको बताए । चितवनमा विक्रम पाण्डेलाई सहयोग गर्दा झापामा कृष्णप्रसाद सिटौलालाई राजेन्द्र लिङ्देनले असहयोग गरको भन्दै उनले अहिले पनि गठबन्धन गरे त्यही अवस्था आउनसक्ने बताए । गठबन्धन गर्ने विषयमा एकपटक नेतृत्वले सोच्नुपर्ने उनको भनाइ छ । भरतपुरमा रेणु दाहाललाई चुनावमा सघाएकै कारण कांग्रेसका नेता–कार्यकर्ता विभाजित भएका उनले बताए ।
देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै नेता कोइरालाले यसको असर भान्सादेखि विभिन्न क्षेत्रमा परेकाले पार्टीले सोच्ने बेला आएको बताए । एमसीसीले एक खुड्किलो पार गरेकाले यसको कार्यान्यन गरेर देशको विकासमा लाग्नुपर्ने उनले बताए । एमसीसीमा सडक मर्मत तथा ट्रान्समिसन लाइन निर्माण गर्ने भन्ने सम्झौता रहेकाले ती काम शुरू भएपछि देशको विकास हुने उनले बताए । देश ऋणमा फस्न नहुने उनले बताए ।महाधिवेशनपछि कांग्रेसमा कुनै मतभेद नरहेको समेत उनले बताए । आन्तरिक चुनाव भएकाले त्यसलाई ठूलो नबनाई एकजुट भएर चुनावी मैदानमा जान समेत उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।