• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

किसानदेखि विद्यार्थीसम्म म्यादी प्रहरी भर्ना हुन आवेदन दिँदै

ByDeayam

Mar 22, 2022

धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी आज महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिँदै गर्दा भेटिए।

सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको बताउँदै उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीका लागि आवेदन दिएको बताए। यहाँको शुक्लाफाँटा नगरपालिका–१२ दुबाह घर भएकी चौधरीले यसअघि आफूले सशस्त्र र नेपाल प्रहरीको जवान पदमा पनि दरखास्त दिएको जानकारी दिए।

‘मेरै आफन्त मात्रै यहाँ म्यादीमा भर्ना हुन छ÷सात जनाभन्दा बढी आएका छन्,’ उनले भने, ‘पछि गएर प्रहरीमा भर्ना हुन सहज होला भन्ने सोचेर म्यादीका लागि आएकी हुँ ।’ उनीसँगै म्यादी प्रहरीमा भर्ना हुन महेन्द्रनगर पुगेकी शुक्लाफाँटाकै सङ्गीता चौधरीले म्यादी हुने रहरले भर्ना हुन आएको बताए। प्रमाणपत्र तहमा अध्ययनरत सङ्गीताले म्यादीबाट आउने तलब सुविधाले केही समय खर्च चल्ने आसले आएको बताए। ‘घरबाट पनि भर्ना हुन जान सहमति दिए,’ चौधरीले भने,‘अनुभव पनि होला भनेर आएँ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी भर्ना आवेदन खुलेयता दैनिक ५०० देखि एक हजार आवेदनका लागि धाइरहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी भर्ना आवेदन खुला गरेसँगै कञ्चनपुरका ग्रामीण बस्तीबाट भर्नाका लागि सयौँ युवा, विद्यार्थी, कृषकदेखि गृहिणीसम्म आइरहेको प्रहरीले जनाएको छ ।

यहाँको शुक्लाफाँटा–१ बन्साहका गोविन्दा राना थारुले पाँचौँ पटक आज म्यादीका लागि दरखास्त दिए। ‘विसं २०४८ यता प्रायः निर्वाचनमा मेरो म्यादी भएर खटिएको अनुभव छ,’ ५२ वर्षीय रानाले भने, ‘अब उमेर पनि अन्तिम भएकाले फेरि भर्ना हुन आइहालेँ ।’ उनले भर्नामा पूर्वसुरक्षाकर्मीका साथै पूर्व म्यादी प्रहरीलाई पनि छनोटमा ग्राह्यता मिल्नेमा आशावादी रहेको बताए।

‘अहिलेसम्म भर्ना हुँदा तोकिए र निर्देशनबमोजिम ड्युटी गर्दै आएँ,’ उनले भने, ‘अहिले खेतीपातीको काम पनि खासै नभएकाले भर्नाका लागि आएँ ।’ शुक्लाफाँटाकै ५३ वर्षीय जयलाल डगौँरा पनि दोस्रो पटक म्यादी हुन जिल्ला प्रहरीमा पुगेका छन् । ‘अब उमेरले पनि अर्को पटक दिन मिल्दैन, घरमा कामकाज नभएपछि म्यादीका लागि आएँ,’ उनले भने, ‘यसअघि विसं २०७४ मा पनि म्यादी थिएँ ।’ गाउँमा खेती किसानी गर्ने चौधरीसँगै गाउँबाट धेरै युवा पनि म्यादी भर्नाका लागि यहाँ आएको बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ एक हजार ४०० भन्दा बढी सङ्ख्यामा म्यादी भर्ना गरिनेछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले तीन दिनमा दुई हजार ५७० ले म्यादी भर्नाका लागि आवेदन दिएको बताए।

‘यहाँ पूर्वप्रहरीदेखि पहिलेका म्यादी र युवा पुस्ता गरी सबै भर्नाका लागि आएका छन्”, उहाँले भने, ‘आवेदन समय सकिएपछि छनोट प्रक्रिया सुरु हुनेछ ।’ उनले भर्नाका लागि छुट्टै डेस्क नै खडा गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *