स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ ।
आज मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेकाे वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भए पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण अहिलेसम्म अस्पताल निर्माण हुन नसकेको गुनासाे गर्नुभयाे ।
मन्त्री खतिवडाले भन्नुभयो, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । तर विभिन्न कारणले अवराेध भयाे । अब यसलाई हामी अगाडि बढाउँछौँ । चिनियाँ विदेश मन्त्रीको भ्रमणमा यो एजेन्डालाई हामीले प्रवेश गर्न सक्यौँ र उहाँमार्फत चीन सरकारलाई सहमति गराउने स्थितिमा पुग्यौँ भने यो याेजना अगाडि बढ्छ, बढाउनुपर्छ ।’
यस्तै मन्त्री खतिवडाले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरू खाेज्ने वा नेपालले आफ्नै लगानीमा निर्माण गर्नुपर्ने पनि बताउनुभयो ।