काठमाडौं । विवाह गर्न नमानेपछि एक युवतीको हत्या गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार एक हिन्दु युवतीको गोली हानी हत्या गरिएको हो । जानकारी अनुसार त्यहाँको सुक्कर जिल्लामा किशोरीले अपहरणको विरोध गरेपछि अपहरणकारीले उनको टाउकोमा गोली हानेका हुन् । युवतीको नाम पूजा कुमारी ओडे हो, उनको उमेर १८ वर्ष थियो । जबरजस्ती धर्म परिवर्तन र अपहरणको असफल प्रयासपछि उनको हत्या भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सुक्कर जिल्ला एसपीले पूजाको हत्याका मुख्य अभियुक्त वाहिद बक्श लासारीलाई पक्राउ गरिएको बताए । लसरीबाट हतियार पनि प्रहरीले बरामद गरेको छ ।
आरोपी वाहिद बक्सले पूजालाई अपहरण गरेर उनीसँग विवाह गर्न चाहेको एसपीले जानकारी गराए । पूजाका बुबाले इन्डिपेन्डेन्ट उर्दूसँग कुरा गर्दै सिन्धमा हिन्दू केटीहरूको अपहरण र जबरजस्ती धर्म परिवर्तनका धेरै घटनाहरू भएको बताए । तर यस्ता घटनामा हिन्दू युवतीहरूले आफ्नै इच्छामा इस्लाम धर्म परिवर्तन गरेको बताइन्छ । छोरीले विवाह र धर्म परिवर्तन गर्न अस्वीकार गरेपछि उनको हत्या भएको उनले जानकारी गराए ।
पूजाका बुवाले भने, ‘आरोपितले विगत केही महिनादेखि मेरी छोरीलाई दुव्र्यवहार गर्दै आएका थिए । उनी पटक–पटक जबरजस्ती घरभित्र पसे । सुक्कर प्रहरीसँग पनि सुरक्षा मागेँ तर प्रहरीले सुरक्षा दिएन । घटनापछि आफन्तले शव राष्ट्रिय राजमार्गमा राखेर विरोध समेत गरेका थिए ।
जसकारण करिब २ घण्टा राजमार्ग जाम भएको थियो ।’ पाकिस्तानमा जबरजस्ती धर्म परिवर्तनका घटनाहरू प्रायः आउने गरेका छन् । पछिल्लो समय ती घटना बढेका छन् । अमेरिकाको सिन्धी फाउन्डेसनका अनुसार सिन्ध प्रान्तमा हरेक वर्ष करिब १००० हिन्दू केटीहरू (१२ देखि २८ वर्षका) अपहरण हुने गरेको छ । उनीहरुलाई जबरजस्ती धर्म परिवर्तन गराइन्छ । त्यसपछि मुस्लिमहरूसँग विवाह गर्छन्। पाकिस्तानले धेरै पटक अल्पसंख्यक समुदायको सुरक्षाको आश्वासन नदिएको होईन् ।
तर, अल्पसंख्यकमाथि भेदभाव भने जारी छ । हिंसा, हत्या, अपहरण, बलात्कार, जबरजस्ती धर्म परिवर्तनजस्ता घटनाहरू हुने गरेका छन् । भारतलाई कट्टर हिन्दुवादी सोच भएको बताउने पाकिस्तानमा हिन्दू, क्रिस्चियन, सिख, अहमदिया र शिया धर्मावलम्बीहरूले ठूलो समस्याको सामना गर्नु परेको छ ।