उर्लाबारी : ब्लड क्यान्सर पीडित मोरङको उर्लाबारी–४ की सपनाकुमारी विश्वकर्माको परिवारले उपचार सहयोगको अपील गरेका छन् । आर्थिक अवस्था कमजोर रहेको विश्वकर्मा परिवारले सहयोगको लागि सबैसँग आग्रह गरेको हो ।
‘दुई महिनाअघिदेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत रहँदा हालसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको छ’ सपनाका ससुरा भानुभक्त विश्वकर्माले भने, ‘अझै २० लाख बढी खर्च हुने डाक्टरले भनेका छन् ।’ कहिँ कतैबाट सहयोग प्राप्त नभए उपचार छोडेर बिचैमा घर ल्याउनु पर्ने अवस्था रहेको भानुभक्तले बताए ।
२९ वर्षीया सपनाले सबैको सहयोगले आफू बाँच्न चाहेको बताइन् । काठमाडौंमा उपचाररत उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘म बाँच्न चाहन्छु, कृपया मलाई बचाउनुहोस् ।’ सपनाको सहयोग गर्न इच्छुकले सपनाका देवर सन्तबहादुरलाई +977 981-5395313 मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै, सन्तबहादुर विश्वकर्माको नाममा सिद्धार्थ बैंकको खाता नम्बर ०१६१५४७५९६४ मा रकम जम्मा गर्न सकिने छ ।
यो पनि :‘जनयुद्ध’ का घाइते भेट्न अस्पताल पुगे प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत ‘जनयुद्ध’ का घाइतेलाई भेटेका छन्। वीर अस्पताललमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ का रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो। त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट फेरि बल्झिएपछी रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरेका थिए।
रानाकी श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौ’ उनले भने, ‘खर्चको दु:ख हुन अब दिन्न, दिइन्नँ।’ प्रचण्डले रानाकी श्रीमती वर्षाको रोजगारी र ७ वर्षीय छोराको शिक्षादीक्षाका लागि उचित पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका थिए।