• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

काठमाडौंको मेयरमा छोरालाई लन्च गर्ने प्रकाशमानको तयारी, कांग्रेसमा उथलपुथल

Bydeep

Mar 23, 2022

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा लौह पुरुष गणेशमान सिंहको पारिवारिक विरासत नौलो होइन। गणेशमानको विरासतमा टेकेर प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व दावी गरिसकेका छन्। यसअघि पार्टीको महामन्त्री र उपसभापति बनिसकेका सिंहले १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए। यद्यपी उनी सभापतिको प्रतिस्पर्धामा तेस्रो बन्न पुगेका थिए। त्यसो त सिंह उपप्रधानमन्त्री समेत भइसकेका नेता हुन्। सिंहले पार्टी राजनीतिमा पारिवारिक विरासतलाई निन्तरता दिने योजनाअनुरुप छोरालाई अघि सार्ने तयारी गरेका छन्।

त्यसो त सिंहकी श्रीमती सिर्जना र छोरा प्रभासमान १४ औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।काठमाडौं क्षेत्र नम्बर ७ बाट सिर्जना र प्रभासमान सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन भएका थिए। ११ औं महाधिवेशनमा प्रकाशमान जेलमा भएका बेला सिर्जना महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । तर, त्यसयता उनी भूमिकाविहीन थिइन् । छोरा प्रभासमान पनि सक्रिय राजनीतिमा आइसकेका छन्। सिंहका जेठा छोरा उनी यसअघि तरुण दलको समेत केन्द्रीय पार्षद बनेका थिए ।अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका सिंह अब भने पार्टीको सक्रिय राजनीतिमै होमिएका छन् ।

अब काठमाडौंको मेयर बनाउने तयारी

प्रकाशमानले प्रभासमानलाई काठमाडौं महानगरपालिकाको मेयरमा अघि सार्ने तयारी गरेका छन्। तर, उनको तयारी आसन्न स्थानीय निर्वाचनका लागि भने होइन। अबको ५ बर्षपछि हुने स्थानीय निर्वाचनमा छोरालाई मेयर बनाउन सिंहले अहिले देखि नै तयारी थालेका हुन्। ‘प्रकाश दाइले प्रभासमानलाई काठमाडौंको मेयरमा लन्च गर्ने तयारी थाल्नु भएको छ। यो निर्वाचनमा ग्राउन्ड तयार गर्ने र अर्को निर्वाचनमा प्रभासमानलाई उठाउने उहाँको योजना देखिन्छ,’ सिंह निकट एक नेताले भने।

छोराको ग्राउन्ड बनाउनकै लागि यसपटक सिंहले युवा पुस्ताबाट महानगरमा मेयरको उम्मेदवार अघि सार्ने मनोस्थिती बनाएका छन्। कांग्रेस काठमाडौंको राजनीतिमा सिंह सबैभन्दा प्रभावशाली नेता हुन्। त्यसकारण उनले कसलाई कसरी अघि बढाउँछन्, त्यसमा धेरै कुरा निर्भर रहन्छ।

त्यसो त सिंह पत्नी सिर्जनाले यसैपटक महानगरको नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गरेकी छन्। महानगरले महिला नेतृत्व खोजेको अभिव्यक्ति उनले सामाजिक संजाल मार्फत यस अघि नै सार्वजनिक गरिसकेकी छिन्। तर, प्रभासमानको राजनीतिक भविष्य तय गर्न यसपटक युवा पुस्ताबाट मेयरको उम्मेदवार बनाएर पत्नी सिर्जनालाई उपमेयरको टिकट दिलाउन सक्ने आँकलन कांग्रेस वृत्तमा भइरहेको छ।

‘सिनियर नेतालाई मेयरको उम्मेदवार बनाउँदा प्रभासमान अर्को पटक पनि उम्मेदवार हुने सम्भावना रहँदैन। अहिले नै दावी गरिरहेका युवा पुस्ताका आकांक्षीले अर्को पटक पनि दावी गर्ने सम्भावना रहन्छ,’ ती नेता भन्छन्, ‘सोही कारण यसैपटक युवालाई अघि सारेर अर्कोपटक प्रभासमानलाई अघि सार्ने सम्भावना धेरै देखिन्छ।’ कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मेयरमा उपमेयर हरीप्रभा खड्गी, भीमसेनदास प्रधान, तीर्थराम ढंगोल, निलकाजी श्रेष्ठ, सुशन वैद्य, प्रगतिमान रन्जीत, राजुराज जोशी लगायतले दाबी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *