काठमाडौ : कलाकार दीपकराज गिरिले निर्वाचनको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरू भएको बताएका छन्। उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य गरेका छन्।
पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् । ‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य कसेका छन् । मंगलबार मात्रै अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी थिइन् ।
यो पनि : एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् ।
अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।