• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

म्यादी प्रहरी हुन तीन दिनमै डेढ लाख जनाकाे आवेदन

ByDeayam

Mar 23, 2022

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी हुन तीन दिनमै डेढ लाख जनाकाे आवेदन परेकाे छ ।

देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।

पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको उनले बताए । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ । एकसातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिनेछ ।

यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *