• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘एउटै कोठामा लुकेका थिए महिला–बालबालिका, हमलाकर्ताले आगो लगाइदिए’

Bydeep

Mar 24, 2022

भारतको पश्चिम बंगालको बीरभूम जिल्लाको बोगटुई गाउँमा आठजनालाई जिउँदै जलाएको मामिलामा कोलकाता हाइकोर्टले बंगाल प्रहरीसँग रिपोर्ट मागेको छ । यसैबीच पीडित परिवारका केही सदस्यले अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेससँग कुराकानीमा हैरान पार्ने दाबी गरेका छन् । परिवारका अनुसार महिला र बालबालिका सबैजना एउटै कोठामा लुकेका थिए र हमलाकार्ताले उनीहरुलाई आगो लगाइदिए । इन्डियन एक्सप्रेसको यो खबरलाई प्रमुखताका साथ स्थान दिएको छ ।

पीडित परिवारका १० जनाको सोमबार राती मृत्यु भएको आरोप छ तर प्रहरीले आठ जनाको मृत्यु भएको दाबी गरिरहेको छ । ती आठ शव पनि परिवारलाई नसुम्पिइ प्रहरीले मंगलबार अबेर राती गाडिदिएको पनि आरोप छ ।

पीडित परिवारका एक सदस्य मिहिलाल शेखले अखबारसँगको कुराकानीमा भने, ‘हाम्रो परिवारका सदस्य, महिला, बच्चा र ज्वाईं जो हामीलाई भेट्न आएका थिए, सबैजना एउटा कोठामा लुकेका थिए । तर हमलाकर्ताले त्यहाँ आगो लगाइदिए र सबैजना मारिए । हाम्रो परिवार सिद्धियो, खरानी मात्रै बाँकी भयो ।’ मिशिलाल शेखले यो हमलामा आफूले परिवारका सात सदस्यलाई गुमाएको जसमा उनकी आमा, श्रीमती, बहिनी, आठ वर्षकी छोरी, भाइकी श्रीमती, भाइकी छोरी र ज्वाईं समावेश छन् ।

मिहिलालका अनुसार प्रहरीले मंगलबार अबेर राती शव गाडिदिएका छन् र यसका लागि अनुमति पनि लिइएको थिएन । उनी भन्छन्, ‘हामी डीएमलाई पनि सम्पर्क गर्न सकेनौँ, प्रहरीले शव हामीलाई सुम्पिनु पर्दथ्यो । यसको साटो शवलाई गाउँमा नै गाडिएको हामीले थाहा पायौँ । यो हामीलाई स्वीकार्य छैन ।’

यो हिंसा पछि बिजेपी लगातार ममता बनर्जी र टिएमसीमाथि हमला गरिरहेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी बिहिबार पनि बिरभूम जिल्लाको बोगटुई गाउँको भ्रमण गर्नेछिन् । अर्कोतर्फ प्रदेश कांग्रेस अध्यक्ष अधिर रञ्जन चौधरी र बिजेपीका पाँच सदस्यीय केन्द्रीय टिम पनि आज त्यो गाउँमा पुग्नेछ । त्यसैले जिल्ला प्रशासन असाध्यै सतर्क छ । यसअघि बुधबार पनि सिपिएम र बिजेपीका प्रतिनिधिमण्डलले उक्त गाउँको भ्रमण गरेका थिए ।

घटनाको तेस्रो दिन पनि गाउँमा भारी आतंक छ । त्यहाँ प्रहरी र र्यापिड एक्सन फोर्सका अत्यधिक जवान तैनाथ गरिएका छन् । यो मुद्दामा तृणमूल कांग्रेस र विपक्षी राजनीतिक दलबीच घमासान चलिरहेको छ । बिजेपी त ममता बनर्जीको राजीनामा र राज्यमा केन्द्रीय हस्तक्षेपको माग गरिरहेको छ । ममताले बुधबार भनेकी थिइन्, ‘यो मामिलामा दोषीलाई उन्मुक्ति दिइने छैन । विपक्षी दल घटना स्थलमा जाने भएकोले नै मैले आफ्नो कार्यक्रम एक दिन सारेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *